काठमाडौं २७ साउन । १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म माल्दिभ्समा हुने भएको छ ।
सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ(साफ)को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिनुभयो ।
१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ भने भुटानले भोलीसम्ममा निर्णय दिने जनाएको एन्फाले जानकारी दियो ।
वर्ष दिन पछि धकेलिएको प्रतियोगिता यस अघि सेप्टेम्बर १४ देखि २५ सम्म ढाकामा हुने तालिका रहेको थियो । तर, आयोजक बंगलादेशले कोभिड–१९ महामारीका कारण आयोजना नगर्ने जानकारी गराएपछि आयोजकको अनिश्चित भएको थियो ।
बंगलादेशले कोरोना महामारीका कारण आयोजना गर्न नसक्ने जनाएपछि नेपाल र माल्दिभ्सले आयोजनाका लागि चासो देखाएका थिए ।
साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ ।
अभ्यासका लागि नेपाली टोली मंगलबार पोखरा प्रस्थान गरिसकेका छन् । ।