स्याङ्जा ११ असोज । गल्याङ नगर प्रमुख भुपराज अधिकारीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएको छ । भविश्यको निर्धारण वर्तमानको शिक्षाले गर्ने भन्दै उहाँले शिक्षालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो ।
गल्याङ नगरपालिका सभाहलमा भएको नगरपालिकाभित्रका प्रध्यानध्यापकहरुको बैठकमा उहाँले बालबालिकाको भविश्यको ठूलो जिम्मेवारी विद्यालय र शिक्षकहरुको भएको बताउनुभयो । नगरप्रमुख अधिकारीले विद्यालयलाई गर्नुपर्ने सबै खालको सहयोगका लागि आफु तयार रहेको भन्दै उत्कृष्ट नतिजाका लागि विद्यालयले नै बढि ध्यान दिनुपर्ने बताउनुभयो ।
यसैबीच, बैठकले गल्याङ नगरपालिकामा फुलपाती देखि पूर्णिमा सम्म मात्रै विद्यालयमा विदा दिने निर्णय गरेको छ । कोरोनाका कारण लामो समय देखि पठनपाठनमा समस्या आएको भन्दै बैठकले विदा घटाउने निर्णय गरेको हो । यस्तै, यसअघि भाद्र मसान्त सम्म विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय भएकोमा गठन गर्न नसकेका विद्यालयहरुमा असोज १८ गते भित्रमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको छ ।
बैठकले दरबन्दी मिलानको प्रक्रिया सुरु गरी कार्तिक मसान्तसम्म दरबन्दी मिलानको टुङ्गो लगाउने निर्णय पनि गरेको छ । असोज १ गते देखि विद्यालयमा लागू गरिएको दिवा खाजा कार्यक्रमलाई अझै व्यवस्थित बनाउने निर्णय पनि बैठकले गरेको छ ।