स्याङजा २२ साउन । पुतलीबजार नगरपालिकाको वडा नं. १४ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
केन्द्र स्थापनाको औपचारिक घोषणा गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले वडाअध्यक्ष जिनेन्द्रप्रकाश मल्ललाई मेलमिलाप केन्द्रका लागि आवश्यक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
सोही कार्यक्रममा नगरप्रमुख रेग्मीले वडाभित्रका समस्यालाई वडामा समाधान गर्ने उदेश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो । अन्यायमा परेकालाई न्याय दिलाई पुण्यलाभ लिन सहजकर्तालाई सुझाव दिनुभयो । दुबै पक्षलाई जीत जीतको अनुभूत गराउनेगरी न्याय दिन समेत उहाले भन्नुभयो । उहाले मेलमिलापकर्तालाई प्रचलित नियम र कार्यबिधि बमोजिमका आचार संहिताको पालना गर्दे काम गर्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालले मेलमिलापकर्तालाई सपथ खुवाउदै कसैको पनि पक्ष तथा विपक्षमा नलागी दुबैतर्फलाई न्याय दिलाउनेगरी काम गर्न सुझाव दिनुभयो । अदालती प्रक्रिया लामो र महंगो हुने भएकाले मेलमिलाप मार्फत समस्या समाधान गर्दा सम्पती र समय दुबैको बचत हुने उहाले भन्नुभयो ।
कार्यक्रममा वडाअध्यक्ष जितेन्द्रप्रकाश मल्ल, सदस्य मुवारक मिया, मेलमिलाप सहजकर्ता संयोजक भरत गिरी लगायतले मेलमिलापकर्ता निष्पक्ष भएर समस्या सुल्झाउनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा आचार संहिताका बारेमा मेलमिलाप सहजकर्ता भवानी अधिकारीले जानकारी गराउनुभएको थियो ।
न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन न्यायिक शाखा प्रमुख सृजना लामिछानेले संचालन गर्नुभएको थियो ।
जेठ महिनामा पुतलीबजार नगरपालिकामा संचालित ४८ घण्टे तालिमप्राप्त ५ जनाले वडा स्तरीय मेलमिलापकर्तामा सूचिकृत हुनु भएको छ । सो वडाका भरत गिरी, इमनाथ पुरी, करुणा क्षेत्री, दिपक रेग्मी, भिमा दर्जी मेलमिलापकर्तामा सूचिकृत हुनु भएको छ ।