स्याङ्जा, ८ असोज । स्याङ्जामा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहनेगरी कार्यालय स्थापना गरिएको हो। शिक्षा विकास कार्यान्वयन ईकाई (शिक्षा) रहेको भवनमा शुक्रवार कार्यालय स्थापना गरिएको हो।
विशेषगरी शिक्षा, संस्कृति, जेष्ठ नागरिक, महिला तथा बालबालिका, अल्पसंख्यक, पिछडिएका वर्ग, सामाजिक सुरक्षा, श्रम तथा रोजगार लगायतका क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको हो। कार्यालयको उदघाटन गर्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बिगतमा रहेको महिला तथा बालबालिका कार्यालयको अभावलाई पुरा गर्ने उदेश्यले यो कार्यालय स्थापना गरिएको बताउनुभयो । प्रदेश सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगरेको बताउदै संघ, प्रदेश र स्थानीय तहका सहकार्य बिना कुनै विकास र समृद्धी संभव नरहेको उहाको भनाई छ । कर्मचारीहरुलाई नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेगरी काम गर्न समेत उहाले निर्देशन दिनुभयो । स्थायी सरकारका रुपमा रहेका कर्मचारीले पूर्ण सहयोग गरेमात्र कार्यक्रमले सफलता पाउने उहाको भनाई हुन ।
कार्यक्रममा पुतलीबजार नगर उपप्रमुख महेश पुरी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका जयनारायण श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, स्याङ्जा जिल्ला अपांग समाजका अध्यक्ष युवराज पराजुली लगायतले कार्यालयको स्थापनासंगै बिशेष संरक्षण गर्नुपर्ने बर्गलाई लक्षित गर्दै स्थापित कार्यालयले तोकिएका लक्ष्य बमोजिमका काम गर्नुपर्नेमा जोड दिनुभयो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव बीरेन्द्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा प्रमुख इश्वरीप्रसाद रेग्मीले स्वागत एवं शाखा अधिकृत शोभाचन्द्र रेग्मीले संचालन गर्नुभएको थियो । कार्यालयले प्रमुख रेग्मीले आर्थिक बर्ष सम्पन्न गर्नुपर्ने काम र योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।