स्याङ्जा, २ असार । केहीदिनदेखिको लगातारको बर्षाका कारण कालीगण्डकी नदी बढेपछि सेतीवेणी बजारका ८ वटा घरमा पूर्ण क्षति पुगेको छ।
उच्च बाढीका कारण गल्याङ नगरपालिका ५ स्थित सेतीवेणी बजार डुवानमा पर्दा ती घरहरुमा पूर्णक्षति पुगेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
सचेत र जागरुकका कारण मानवीय क्षति हुन पाएन। मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरको धनको क्षति पुगेको छ।
पुराना शैलीका ती घरका आधाआधी भाग भत्केका छन्। घरका आधाआधी भाग पानीको डुवानमा छन्। घरभित्रका सामान झिक्न नपाउदा सबै नदीले बगाएका हुन्।
मानवीय क्षति हुन नदिन प्रहरी, स्थानियबासी, जनप्रतिनिधी र रेडक्रसको सहकार्यमा ती परिवारलाई उद्धारगरी सुरक्षित स्थलमा सारिएको छ।
प्रनाउ अधिकारीका अनुसार ‘गल्याङ ५ सेतीवेणी निवासी केशबहादुर क्षेत्रीको दुई तले, केशराज न्यौपानेको ३ तले, ठाकुरप्रसाद श्रेष्ठको २ तले, रेशमराज न्यौपाने २ तले, लक्ष्मी पति न्यौपानेको २ तले, गुरुबहादुर क्षत्रीको २ तले घर, तेजराम काफ्ले २ तले, त्रिबिक्रम हेजुको २ तले कच्चीघरहरु पूर्णरुपमा नष्ट भएका छन।’
यसैगरी, कालीगण्डकी नदीमा पानीको वहाव कम भएको छैंन। अझैं पनि बजारका अन्य १५ घरहरु सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको वडाअध्यक्ष बिष्णुबहादुर क्षेत्रीले जानकारी गराए। उनले भने ‘सेतीवेणी बजारको तल्लो खण्ड अझैं उच्चजोखिमै छ। यहाँका ३५ घर डुवानको उच्च जोखिममा छन्।’
पानीको वहाव उच्चदरमा बढेसंगै कालीगण्डकी जलबिद्युत उत्पादन केन्द्रका ड्यामका ढोकाहरु खोलिएका छन्। अहिलेसम्म पनि यहाँ पानी परिरहेकै छ।