काठमाण्डौ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभामा अहिले कायम रहेका कुल २७१ सदस्यमध्ये बहुमत पुर्याउन १३६ मत आवश्यक पर्ने भए पनि उहाँले १६५ मत प्राप्त गर्नुभएको छ । मतदानमा २४९ जना सांसद सहभागी भएकोमा विपक्षमा ८३ मत खसेका छन् । उहाँलाई कांग्रेस, माओवादी केन्द्र, जसपाको दुवै पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका छन् । एमालेको माधव नेपाल समूहका केही सांसदले मात्र उहाँलाई विश्वासको मत दिएका छन् । पार्टी एकताको पहल गर्दै आएका दोस्रो तहका नेताहरु तटस्थ बसेका हुन् ।
सर्वोच्च अदालतको परमादेशअनुसार संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवाले संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको हो । एक महिनाभित्र विश्वासको मत लिने सुविधा भए पनि उहाँले प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिनमा नै विश्वासको मत लिनुभएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् ।
देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।
देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।