स्याङ्जा २१ असोज । बिगत ३ दिनदेखिको निरन्तर वर्षाका कारण पहिरो जाँदा वालिङ्का ५ वटा पक्की घरहरु उच्च जोखिममा छन्। नगरपालिका १३ बायाँटारी स्थित ठुलाखेतका ५ घर जोखिममा परेका हुन्।
पदमबहादुर सारु, रामबहादुर सार्की, इन्द्रबहादुर सार्की, धनबहादुर डाला मगर र पृथ्वीलाला गुरुङ्का घरको आँगनमै पहिरो गएको छ। पक्की र सुबिधा सम्पन्न ती घरहरु दुईदेखि ३ तलाका छन्।
वर्षासंगै ती घरका पिढीं, टेवापर्खाल ढल्नुका साथै आँगनबाटै पहिरो झर्दा स्थानीय त्रसित छन्। उनीहरुलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ। घरभित्रका सरसामान सहित अन्यत्र सारिएका छन्। केही आफन्तको घरमा पुगेका छन् भने केही परिवारलाई समाज घरमा राखिएको प्रहरीले जनाएको छ।
जोखिम कम गर्न तत्कालका लागि त्रिपाल र प्लाष्टिकले छोपेर पानी तर्काउने काम भएको छ। शसस्त्र र प्रहरीसंगै स्थानीयबासीको सहयोगमा जोखिम स्थलभित्र पानी पस्न नदिनका लागि प्लाष्टिकले छोप्ने काम गरिएको छ।
पहिरो गएपछि नगरप्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी, वडा अध्यक्ष नमलाल डुम्रे सहितको टोली शुक्रवार बिहानै त्रिपाल र प्लाष्टिक लिएर घटनास्थल पुगेर अवलोकन गरेको बताइएको छ।