स्याङ्जा ११ भदौ । महिलाहरुको पर्व हरितालिका तिजलाई शभ्य र भब्य रुपमा मनाउन प्रहरी, प्रशासनले जिल्लाबासी सबै नागरिकलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई मौलिक रुपमा मनाउन आग्रह गरेको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हर्षोल्लासका साथ मनाईने हरितालिका तीज पर्व कुनै तडक भडक नगरी मौलिक रुपमा मनाउन प्रशासनले अनुरोध आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा हस्ताक्षरित सूचनामा पछिल्ला समय तीज पर्व परम्परागत मौलिक चरित्र र सामाजिक सांस्कृतिक मान्यतालाई ओझेलमा पार्ने गरी अनावश्यक रुपमा खर्चिलो तथा भड्किलो हुँदै गएको र देखासिकीमा परिवारले धान्न नसक्ने तथा मुस्किल पर्ने गरी फजुल खर्च गर्ने देखिएको भन्दै प्रशासनले मौलिकतालाई नभुल्न आग्रह गरेको हो ।
साथै सूचनामा प्रस्तुतिमा मौलिकता र व्यक्तिगत रचनाले प्राथामिकता पाउन छाडेको जस्ता गुनासाहरु प्राप्त भएकोले तीज पर्व मनाउँदा हाम्रो समाजको परम्परागत मौलिकता, सांस्कृतिक परम्परा र गौरव कायम राख्दै स्थानीय प्रतिभाहरुलाई प्रस्फुटन हुने वातावरण सृजना गर्न भनिएको छ ।
महिला शसक्तिकरण, लैंगिक समानता र सामाजिक सद्धभाव बढाउने गरी स्वस्थ र शान्तिपुर्ण रुपमा हार्दिकतापुर्वक ढंगले मनाउन प्रशासनले आग्रह गरेको हो ।