पोखरा, ४ असार ।गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई तमुवान राज्य बनाए आफ्नो नेतृत्वको तत्कालीन सरकार जोगाइदिने प्रस्ताव आएको बताउनुभएको छ ।
प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएका गुरुङले प्रदेशको राजधानीको नाम तमुवान राखेको खण्डमा आफ्नो नेतृत्वको सरकार बचाइदिने प्रस्ताव आएको बताउनुभएको हो ।
जातीय सद्भाव, सांस्कृतिक सद्भाव र सामाजिक सद्भाव जोगाउने सबैको कर्तव्य रहेको उल्लेख गर्दै त्यसलाई कसैले भत्काउन खोजे आफूहरू चुप लागेर नबस्ने र सशक्त प्रतिवादमा उत्रिने चेतावनी समेत दिनुभयो ।
जातीय सद्भाव कायम गर्ने उद्देश्यले नै सबै पार्टी सँगको छलफलमा प्रदेशको नाम गण्डकी नामाकरण गरिएको स्मरण गर्दै उहाँले सानो दुखले गण्डकी प्रदेश नबनेको भन्दै जातीय सद्भाव र सांस्कृतिक सद्भाव गण्डकी प्रदेशको ठुलो सम्पत्ति रहेको र त्यसलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयतालाई बलियो बनाउन वर्तमान सरकार लागेको खण्डमा नेकपा एमालेले सरकारलाई सहयोग गर्ने बताउनुभयो ।
व्यक्तिगत रूपमा मुख्यमन्त्री पोखरेल राजनीतिक इतिहास बोकेको परिवारबाट आएको र प्रदेशसभामा रहेका ५९ सदस्यमध्ये सबभन्दा परिपक्व र शालीन नेता भएको भए पनि मुख्यमन्त्री पोखरेलले गठबन्धनको नेतृत्व गरेकाले विश्वासको मत दिन नसक्ने उल्लेख गर्नुभयो ।