स्याजा, १५ असार । आज असार पन्ध्र । मानो खाएर मुरी फलाउने महिनाको मध्य दिन । आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ ।
नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ ।
दही चिउरा खाने बेला तथा आवजतजावत गर्दा मापदण्ड अनुसारको दूरी कायम गर्ने तथा सम्भव भएसम्म प्रविधि र मेसिनको प्रयोग गरेर दिवस मनाउन सरकारले आग्रह गरेको छ । असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।
खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही चिउरा खाएर असार १५ मनाउँछन् । दही चिउराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।