स्याङ्जा १ मंसिर । पोखराबाट चापाकोटतर्फ जाँदै गरेका बिष्णु बिक शंकास्पद धातुका गहनासहित पक्राउ परेका छन् ।
चापाकोट नगरपालिका –८ दामाचौरका २९ वर्षीय विक भीरकोट नगरपालिका –२ दहथुमस्थित सिद्धार्थ राजमार्ग भैरहेको चेकिङमा बिलबिनाका गहना बोकेर हिँडिरहेका विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।
विकको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ५ तोला ६ लाल २ पईन्ट (जन्तर १ थान, मोतीमाला ३ थान, धातुको टुक्रा ४ थान) र चाँदीजस्तो देखिने १० तोला ७३ लाल ३ पईन्ट (बाला ६ जोर) बरामद गरेको प्रहरीले जनाएको छ । उनी सवार लु २९ प ६०१२ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद सामग्रीको परीक्षण तथा धातुको श्रोतबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यसैबीच जेनजि आन्दोलनको क्रममा कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी फेदिखोला, स्याङ्जाबट खटिएको विशेष अप्रेसन टोलीले कास्की महानगरपालिका १८ घर भई फेँदिखोला गाउँपालिका १ बस्ने ३१ वर्षीय सुनिल थापालाई फेँदिखोलाबाट पक्राउ गरिएको हो ।
थापालाई कानुनी कारबाहीको लागी जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
