स्याङ्जा, ३० कातिक । पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारले पूर्वाधार विकासमा मोटो रकम खर्च (लगानी) गर्दै आएका छन् । पूर्वाधारतर्फ सुरुङ्मार्ग, राजमार्ग विस्तार, नयाँ सडक निर्माण, पक्की पुल, प्रशासनिक संरचना र अस्पताल लगाएतका क्षेत्रमा सरकारले मोटो रकम खर्च गरेको छ । ठूला पूर्वाधार विकासमा तीनै तहका सरकार तछाड र मछाड शैलीमा मोटो रकम खर्च गर्ने प्रतिस्पर्धामा छन् ।
पूर्वाधारमा मोटो रकम खर्च गरेपनि स्याङ्जाभित्र ८२ किलोमिटरको दुरी पर्ने कुल १८१ किलोमिटर लम्बाईको पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्गको स्तरवृद्धि हुन गरेको छैन् । तराई पहाड जोड्ने देशकै छोटो र सहज सिद्धार्थ राजमार्गको स्तरउन्नती देख्न र भोग्न आतुर स्याङ्जा र आसपास जिल्लाका स्थानीय व्यग्र प्रतिक्षामा छन् । प्रमुख राजमार्गको स्तरवृद्धि नभएपनि जिल्लाभित्र साना र ठूला गरी दर्जनौ पूर्वाधार निर्माणको गतिविधिले भने तिव्रता पाएका छन् ।
गण्डकी प्रदेश सरकार बनेपछि स्याङ्जामा पछिल्लो ७ वर्षमा १५ वटा पक्की (सडक) पुल बनेको पूर्वाधार निर्माणको गतिलो उदाहरण हो । आर्थिक वर्ष २०७५÷७६ देखि पछिल्लो ७ वर्ष अर्थात आर्थिक वर्ष २०८१÷८२ सम्मको अवधिमा २६ करोड ४३ लाख ४४ हजार ४०२ रुपैयाँको लागतमा १५ पक्की पुल बनेको गण्डकी सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा देखिन्छ ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०७५÷०७६ मा ५ करोड दुई लाख १७ हजार ५०१ रुपैयाँको लागतमा दुई पक्की पुल निर्माण गरेको छ । छोरेपाटन–कृस्ति हुँदै सुकौदी–बाडखोला जोड्ने सडक खण्डको सुकौदीमा एक करोड ६९ लाख ५३ हजार ५८५ र पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिका जोड्ने सडक खण्डअन्र्तगत ठाडोखेतको दरौखोलामा तीन करोड ३२ लाख ६३ हजार ९१६ रुपैयाँको लागतमा पुल निर्माण गरेको कार्यालयले जनाएको छ ।
७ वर्षमा १५ पुल बनेको भएपनि आर्थिक वर्ष २०७६÷०७७ मा संख्याका आधारमा तुलनात्मक रुपमा धेरै पुल निर्माण भएका छन् । सो आर्थिक वर्षमा कुल १० करोड ४३ लाख ८६ हजार ३५२ रुपैयाँको लागतमा विभिन्न सडकअन्र्तगत ७ वटा पक्की पुल निर्माण भएको पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर दयाराम अधिकारीले जानकारी दिए ।
उनका अनुसार उक्त वर्ष वालिङ नगरपालिकाको त्रियासी–मनकामना सडकमा पर्ने रत्ने–दोभानखोलामा ८८ लाख १३ हजार ८१३ रुपैयाँको लागतमा पुल बन्यो भने पुतलीबजार नगरपालिका र हरिनाश गाउँपालिका जोड्ने घुम्ती–चिसापानी सडकको भुवनेखोलामा बनेको पुल ९८ लाख ३६ हजार २१४ रुपैयाँमने लगतमा तयार भएको हो । भीरकोटको बगरेबजार–पकान हुँदै वालिङ जोड्ने सडकको लुब्दीखोलामा कुल दुई करोड १५ लाख ६२ हजार ३३४ रुपैयाँ लागतमा पुल बनेको प्रमुख अधिकारीले जनाए ।
त्यसैगरी सिद्धार्थ राजमार्गको नागडाँडा हुँदै कार्किनेटा जोडिने सडकको बाँसकोट खोलामा एक करोड १३ लाख २५ हजार २५३ रुपैयाँको लागतमा पुल बन्यो भने वालिङकै राक्से–केसेरी हुँदै फूलबारी सडकको अर्मादीखोलामा एक करोड २२ लाख ७७ हजार ९७६ रुपैयाँमा पुल बनेको छ ।
बिरुवा–बाहुँ–ओरेष्ट सडक खण्डमा पर्ने अम्बेटस्थित मयाङ्गखोलामा एक करोड ७५ लाख २६ हजार ७६२ रुपैयाँको लागतमा पुल बन्दा फेदीखोला हुँदै पञ्चासे पुग्ने सडकको फेदीखोलास्थित पुललाई दुई करोड ३० लाख ४४ हजार खर्च भएको पूर्वाधार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा सेतीदोभान हुँदै फापरथुम–चण्डीकालिका जोड्ने सडकको पातीखोलामा दुई करोड ६ लाख ८५ हजार १४९ रुपैयाँमा पुल बनेको छ । गल्याङ्–निबुवाखर्क हुँदै सेतिबेनी पुग्ने सडकको मान्केखोलामा एक करोड ३७ लाख एक हजार ५९३ रुपैयाँ र गल्याङ्–चापाकोट सडक खण्डको जौदीखोलामा दुई करोड ३९ लाख १७ हजार ८७ रुपैयाँको लागतमा पुल निर्माण भएको पूर्वाधारका इन्जिनियर शिवजी ढुङ्गानाले जानकारी दिनुभयो ।
हेलु–अर्जुनचौपारी हुँदै सिरुबारी जाने सडकमा आर्थिक वर्ष २०७८÷७९ मा केवँरेखोलामा एक करोड ९४ लाख ४१ हजार ५० रुपैयाँमा पक्की पुल बनाएको छ । पुल बनेसँगै नेपालकै पहिलो ग्रामिण पर्यटकीय क्षेत्र सिरुबारीको होमस्टे जानआउन सहज भएको छ । सिरुबारीको होमस्टे पुग्न बुटवल तर्फबाट आउने पर्यटकका लागि हेलु–अर्जुनचौपारी सडक छोटो सहज हुने स्थानीयले बताएका छन ।
आर्थिक वर्ष २०७९÷८० मा हुँगिघाट–बेलचौर सडकको गौरीघाट खोलामा एक करोड ३३ लाख तीन हजार ६४६ रुपैयाँको लागतमा पक्की पुल बनेको पूर्वाधारका सडक इन्जिनियर पोषराज पौडेलले बताउनुभयो । उहाका अनुसार पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा बाडखोला, पौवैगौडे–टक्सार सडक खण्डको पौवैखोलामा एक करोड ८६ लाख ९२ हजारको लागतमा पुल निर्माण भएको छ ।
पछिल्लो ७ वर्षमध्ये आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा पुल बनेको तथ्याङ्कमा देखिदैन् । कार्यालयका अनुसार उक्त वर्ष पुल बनाउने ठेक्का लागेपनि निर्माण सम्पन्न हुन सकेन् । उक्त वर्ष झण्डै १८ करोडको लागतमा चार वटा पक्की पुल ठेक्का लगाएपनि सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । विगत तीन वर्षदेखि निर्माण थालिएका पक्की पुलहरु चालु आर्थिक वर्षमा सम्पन्न हुने कार्यालयले जनाएको छ ।
