स्याङ्जा २१ कात्तिक । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शुक्रवार पत्रकार सम्मेलनगरि अघिल्लो आर्थिक बर्षको जेठ असार र चालु आर्थिक बर्षको ४ महिनागरी ६ महिने गतिबिधिका बारेमा जानकारी गराएको छ ।
स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेले ६ महिनामा १ सय ३३ वटा मुद्धा दर्ता भएको र ती मध्ये ५५ वटा फस्र्योट भई ७८ वटा कार्यान्वयनका चरणमा रहेको जानकारी गराए । जेठ र असारमा ६१ मुद्धा दर्ता भएक थिए भने चालु आवको ४ महिनामा ७१ मुद्धा दर्ता भएका छन् ।
सोही अवधिमा १ सय २८ जना फरार प्रतिवादी पक्राउ परेका र तिनीहरुबाट २ करोड २४ लाख ३ हजार ८९२ रुपैंया जरिवाना सहित १ सय १० बर्ष ९ महिना ९ दिनको कैद सजाए भोग्नुपर्ने जानकारी गराए । पक्राउ पर्नेमा ९६ पुरुष र ३२ जना महिला छन् । अदालतबाट ४ सय ८५ जना फरार प्रतिवादीका नाम प्राप्त भएको र ती मध्ये २६ प्रतिशतमा सफलता पाएको प्रहरी उपरीक्षक न्यौपानेले जानकारी गराउनुभयो ।
यसैगरी, प्रहरीले लामो समयसम्म लुकिछिपी बसेका फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई पनि निरन्तरता दिदै आएको छ । तत्कालिन पेलाकोट गाविसका सुन र रेडियो चोरी मुद्धाका फरार प्रतिवादी लालबहादुर राना र गिरीप्रसाद गुरुङलाई ४७ बर्षपछि आफनै घर गल्याङ्बाट पक्राउ गरिएको छ । तत्कालिन अवस्थामा ४ हजार ५ सय रुपैंया जरिवाना र डेढ महिना कैद तोकिएका उनी फरार बनेका थिए ।
विरुवा गाउँपालिका ओरष्टेमा २०५२ सालमा कुटपिटका कसुरदार ७४ बर्षिय थमप्रसाद पोखरेल पनि ३० बर्षपछि पक्राउ परेका छन् । उनलाई नवरपरासी पश्चिम बर्दघाटबाट पक्राउ गरिएको हो । मोटरसाइकलको चर्को आवाज आएको भन्ने बिषयमा विवाद हुदा ३२ बर्षका ढालबहादुरको ज्यान गयो । सोही ज्यान मुद्धाका ८ जना आरोपी पक्राउ परेको र सबैलाई जिल्ला कारागार चलान गरिएको बताइएको छ ।
धारिलो हतियार प्रहार गर्ने ब्यक्ति, तास खेलिरहेका अवस्थामा १२ जना नियन्त्रणमा, चर्को आवाजगरि चलाइएका १० वटा मोटरसाइकललाई, प्रहरी कर्मचारीलाई अभद्र ब्यवहार गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही गरेको जानकारी गराइएको छ ।
यसैगरी, पछिल्लो ६ महिनामा ३९ वटा आत्महत्याका घटना भएको र ती मध्ये १३ महिला र २६ पुरुष रहेका छन । अघिल्लो दुई महिनामा १३ र चार महिनामा २६ जनाले आत्महत्या गरेका छन् ।
नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने ४७ वटा सवारी साधान नियन्त्रणमा लिई ७ लाख २९ हजार ७३२ रुपैढा राजश्व संकलन गरिएको छ । अवैध ओसार पसार गरिएका खाद्य, कस्मेटिक, लत्ताकपडा, पटका लगायतका गरि ४५ लाख ८४ हजार ९४७ संकलन गरिएको छ । अवैध लागु औषधमा ८ वटा मुद्धा दर्ता भएका छन भने १३ जना ब्यक्ति प्रक्राउ परेका छन् ।
यसैगरी, प्रहरीले ६ महिनामा जिल्लाभित्रका बिभिन्न क्षेत्रका ३३२ रोपनी क्षेत्रफलमागरि ६६ हजार ४१३ वटा गाजाका बोट काटेको जनाएको छ । ट्राफिक कारवाहीबाट ५१ लाख १८ हजार ५ सय राजश्व संकलन भएको छ । ६० जना मानिस हराउदा ४१ जना फेला परेको र १९ जनाको अवस्था अज्ञात रहेको बताइएको छ । सो अवधिकमा ६ हजार ८६४ सवारी साधान कारवाहीमा परेको छ । ३२ सवारी दुर्घटना भएको र ५ जनाको मृत्यु र १० जना घाईते भएका छन ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम, ग्रामिण गस्ती, बिभिन्न स्थानीय पालिकाको अनुगमन गरेको पनि सम्मेलनमा जानकारी गराइएको हो । सम्मेलनमा जिल्लास्थित क्रियाशिल पत्रकारहरुको सहभागिता थियो भने पत्रकारले जिल्लाका सरोकारका बिषयमा जिज्ञासा राखेका थिए भने प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जवाफ दिनुभएको थियो ।

