स्याङ्जा १२ पुस । राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर बृद्धाआश्रमका र अन्य सहित ३० जना जेष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) प्रदान गरिएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाले चापाकोट नगरपालिकाको समन्वयमा राधा दामोदर आरोग्य बृद्वाआश्रममा बस्ने २२ जना र अन्य ८ जना जेष्ठ नागरिकलाई जाडोको लागि भन्दै न्यानो ओढो कम्बल वितरण गरेको हो ।
कम्बल प्रदान गर्दे चापाकोट नगर उपप्रमुख ईशा रानाले जेष्ठ नागरिक समाजका ऐना भएको बताउनुभयो । उहाँहरुका योगदान र अनुभवलाई सिको गर्दै सामाजिक विकासमा लगानी गर्नुुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, वडा अध्यक्ष तारा पोख्रेल, जेष्ठ नागरिक धु्रवराज अधिकारी लगायतले ज्येष्ठ नागरिकक सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र सम्मानका लागि सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो ।
जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गरेको दिनको स्मरण गर्दै नेपालमा प्रत्येक वर्ष पुस ११ गते राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइने गरेको पाइन्छ । सोही सन्दर्भलाई जोड्दै सामाजिक विकास कार्यालय स्याङ्जाले चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस चापाकोट नगरपालिकासंग समन्वय गर्दै यहाँ स्थित बृद्धाश्रमममा मनाएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।