स्याङ्जा ९ माघ । वालिङ् चेम्बर अफ कमर्सले आगामी फागुन ९ देखि १८ गतेसम्म वालिङ्मा प्रथम वालिङ् सिटि महोत्सव गर्ने भएको छ । कमर्सले पत्रकार सम्मेलन गरी महोत्सवको मिति सार्वजनिक गर्दै यसका बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा वालिङ् चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपाने (किरण) ले ‘सम्पन्न समाज समृद्ध वालिङ’ भन्ने मूल उद्देश्यका साथ वालिङ् खेलमैदानमा महोत्सवको आयोजना गरिएको बताउनुभयो । महोत्सवले वालिङको सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवद्र्धन एवं संस्कृतिको जगेर्ना हुने अपेक्षा रहेको संयोजक न्यौपानेले बताउनुभयो ।
महोत्सवले मुलुकका विभिन्न प्रदेशको स्थानीय स्तरमा उत्पादित ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवद्र्धनका साथै एकै थलोमा भेला गराई सो को पहिचान गराउने र वस्तु सेवाहरु उपभोक्तासम्म पुर्याउने जमर्को गर्ने संस्थाका महासचिव गणेश राउतले बताउनुभयो ।
महोत्सवमा कृषि प्रदर्शनी, खेलकुद, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायतका २०० स्टलहरु रहनेछन् ।
महोत्सवमा ६६ लाख आम्दानी, ६० लाख खर्च हुने र ६ लाख बचत गरिने अनुमान गरिएको छ । स्थानीय व्यापारीलाई प्रोत्साहन गर्नका लागी निश्चित प्रतिशत छुटमा यहीँका व्यापारी व्यवसायीहरुलाई महोत्सवमा सहभागि बनाईने चेम्बरले जनाएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष प्रदिप कोईराला, पत्रकारहरु अर्जुन काफले, रोशन लामिछाने, कला राना, सुशिल सुवेदी लगायतका जिज्ञासालाई अध्यक्ष न्यौपानेले जवाफ दिनु भएको थियो ।
वालिङ् चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुष्पा अर्यालले स्वागत र महासचिव गणेश राउतले संचालन गर्नुभएको थियो ।