स्याङ्जा १५ पुस । आज पुसको १५ गते । तमु÷गुरुङ समुदाय को महान चाड अर्थात् नयाँ बर्ष हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । बिकम सम्बतको पुस महिनाको १५ गतेमा मनाइने चलन छ ।
गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पती भएको मानिन्छ । ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ’नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै)भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।
ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषामा सजिएर आ आफना सांस्कृतिक कार्यक्रम गर्दै मनाउदैछन । गुरूङ जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, ङोलो ङोल्स्यो साथीभाईहरूसँग रमाइलो गर्छन् । गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् जस्तै– कास्की, स्याङ्जा गोरखा, लमजुङ, तनहुँ, चितवन, रुपन्देही दैलेख, बाँके, सुर्खेत, मनाङ, रुम्जाटार, खोटाङ काठमाडौँ आदि ।
नेपाल को विभिन्न ठाँउ बाहेक विश्वका विभिन्न देशहरू जस्तै– बेलायत, अमेरिका अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मनी, भारत लगायत अन्य देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ । देश विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन्।
तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । ल्हो चक्रमा प्रत्येक वर्ष एउटा वर्गले भोग गरेपछि अर्को वर्ष नयाँ ल्हो (वर्ग) का रूपमा नयाँ वर्षको सुरुआत हुन्छ । तमू ल्होसार गुरुङ समुदायको आस्था, विश्वास, पहिचान र सिंगो जीवन दर्शन हो ।
यसैगरी, आज ब्राहमण समुदायले पनि पुसे पन्ध्रमलाई बिशेष पर्वको रुपमा मनाउने गर्दछन । अनदीको चामलबाट बनाउने लट्टेसंगै, सेल रोटी लगायतका अन्य बिबिध खानेकुरा पकाएर आफना आफन्तलाई खाने खुवाउने चलन छ ।