स्याङ्जा १८ असोज । गण्डकी विश्वविद्यालयमा असोज १७ गतेबाट अध्ययन अध्यापन शुरु गरेकोे छ । गण्डकी प्रदेश सरकारले गठन गरेको विश्वविद्यालयले आफ्नो स्थापनाको ठिक दुई वर्षपछि अध्ययन अध्यापन शुरु गरेकोे हो ।
नेपालमा नै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम) र व्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (वि आइटी) विषयमा अध्ययन अध्यापन शुरु गर्न लागेको विश्वविद्यालयले शुक्रबार पहिलोपटक विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम समेत गरिसकेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालयका न्यासिक परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो । उहाँले विश्वविद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन हुने बताउनुभयो । गण्डकी विश्वविद्यालयको सिको सबै प्रदेशहरूले गर्न चाहेको धारणा अघि सार्दै योजना आयोगका पूर्व सदस्य समेत रहनुभएका डा. देवकोटाले विश्वविद्यालयको गठन भएको मोडल नै फरक भएकोले पनि विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, उपकुलपति प्रा.डा. नवराज देवकोटाले लगायतले बोल्नु भएको थियो ।
गण्डकी विश्वविद्यालयले स्नातक तह विएसएम विषयमा १६ जना, व्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (वि आइटी) विषयमा ३१ जना र विफर्मामा २० जना गरी ६७ जना विद्यार्थी अध्ययन गर्ने जनाएको छ ।