काठमाण्डौ २ साउन । पश्चिमी यूरोपमा आएको एक भीषण बाढीमा परी ४६ जनाले ज्यान गुमाएका छन्। त्यहाँका अधिकारीहरूले शताब्दीकै ठूलो वर्षाका कारण उक्त बाढी आएको जनाएका छन्।
देशको पश्चिमी र दक्षिणी भागमा आएका बाढीमा परी जर्मनीमा ७० जना बेपत्ता रहेका र कयौं घरहरू डुबानमा परेका त्यहाँको प्रहरीले जनाएको छ। बाढीबाट सबैभन्दा बढी प्रभावित जर्मनीमा ४० जनाको मृत्यु भएको छ भने बेल्जियममा ६ जनाको मृत्यु भएको छ। लग्जम्बर्ग र नेदरल्यान्ड्स पनि बाढीले नराम्रोसँग प्रभावित भएका छन्। जर्मनीका केही स्थानहरूमा एक शताब्दीको अन्तरालमा यतिको ठूलो वर्षा नभएको जर्मन मौसम सेवाका प्रवक्ता एन्ड्रिस फ्रेड्रिचले बताउनुभयो ।
वासिङ्टन डीसीको भ्रमणको क्रममा रहेकी जर्मन चान्सलर एन्जेला मर्केलले आफ्नो देशमा आएको विनाशकारी बाढीलाई विपत्तिको संज्ञा दिनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटवार्ता अगाडि आयोजित पत्रकार सम्मेलनमा चान्सलर मर्केलले आफू वासिङ्टनमा भए पनि आफ्नो मन र विचारहरू जन्मभूमिका जनतासँगै रहेको बताउनुभयो ।
तत्कालका लागि उद्धार कार्यमा जोड दिइएको जनाउँदै बाढी पीडितको दीर्घकालीन रूपमा कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयमा आफ्नो देशको अर्थमन्त्री ओलफ स्कोल्जसँग निरन्तर सम्पर्कमा रहेको पनि उहाको भनाई छ ।
बेल्जियमको बाढी प्रभावितको उद्धारका लागि फ्रान्सको नागरिक सुरक्षा समितिका कामदारहरू पुगेका छन्।