एजेन्सी, असार २३ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका ३७ देशका सरकार प्रमुखलाई रिपोर्टर्स विथआउट बोर्डर्स (आरएसएफ)ले ‘प्रेस स्वतन्त्रताका शिकारी’ का रुपमा चित्रित गरेको छ । ‘प्रेडेटर्स अफ प्रेस फ्रिडम’ सम्बन्धि नाम दिइएको प्रतिवेदन सार्वजनिक गर्दै आरएसएफले ठूला सञ्चार उद्यममा लगानी रहेका अर्बपतिसँग नजिकको सम्बन्धमार्फत् मोदीले स्वतन्त्र पत्रकारितामाथि ‘आक्रमण’ गरिरहेको जनाएको हो । मोदीनिकट मानिने अर्बपति स्वामित्वका सञ्चारमाध्यमहरुले मोदीका अति विभाजनकारी तथा अपमानजक भाषणहरुलाई स्थान दिने गरेको र उनको ‘नेशनलिस्ट–पपुलिस्ट आइडिओलोजी’ को विस्तार गरिरहेको आरोप पनि आरएसएफले लगाएको छ । वर्ष २०२१ को विश्व प्रेस स्वतन्त्रता सूचांकमा भारत १८० देश मध्ये १४२ औँ स्थानमा छ । भारतको तुलनामा नेपालको अवस्था राम्रो देखिएको छ । नेपाल यो सूचीमा १०६ नम्बरमा छ । दक्षिण एशियामा भुटानकाे अवस्था राम्रा छ । मुलुकभित्र प्रेसमाथि गरिएको व्यवहारका कारण ‘प्रेस स्वतन्त्रताका शिकारी’ मा पर्नेहरुमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान, साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान, म्यानमारका सैनिक प्रमुख मिन आङ लाइङ, उत्तर कोरिया किम जोङ–उन छन् ।
पत्रकारको हत्यादेखि सञ्चारमाध्यममा गरिने सेन्सरसीप, हिंसा र जेल सजायँसम्ममा कुनै न कुनै रुपमा सत्ताको साथ हुने गरेको आरएसएफले जनाएको छ । ३७ जनाको यस सूचीमा पहिलो पटक १७ जना पर्दा १३ जना एसिया–प्यासिफिक क्षेत्रकै शासक छन् । सन् २००१ यता सिरियाका राष्ट्रपति बशर अल–असद, इरानका आयातुल्लाह अली खामेनी, रुसका भ्लादिमिर पुटिन, बेलारुसका एलेक्सान्डर लुकाशेन्कोसहित सात देशका नेता लगातार सूचीमा पर्दा यस पटक दुई महिला नेत्री बंगलादेशकी शेख हसिना र हङकङकी कारी लाम पनि परेका छन् । प्रेस स्वतन्त्रताका लागि सबैभन्दा राम्रो देशका रुपमा नर्वे, फिनल्याण्ड, स्वीडेन, डेनमार्क, कोस्टारिकालगायत छन् । सबैभन्दा खराब सूचीमा भने इरिट्रिया, उत्तरकोरिया, तुर्कमिनिस्तान, चीन, भियतनामलगायत देश छन् ।