काठमाण्डौं २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट आजदेखि सञ्चालनमा आएको छ । आयोजना स्थल गोगर र प्रधानमन्त्री निवास बालुवाटारबीच श्रव्य दृश्यका माध्यमबाट जोडिएको छ ।प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट ‘क्लिक’ गरेपछि आयोजनाको पहिलो युनिट सञ्चालनमा आएको छ । आयोजनामा छ वटा युनिट छन् ।
नेपालको जलविद्युत् विकासको इतिहासमा नयाँ कोशेढुंगासमेत कायम भएको छ । स्वदेशी लगानीको हालसम्मकै सबैभन्दा ठूलो आयोजना निर्माण शुरु भएको झण्डै ११ वर्षपछि सम्पन्न भएको हो । प्राकृतिक विपद् तथा अन्य कारणले गर्दा आयोजना ढिलाइ हुन पुगेको हो । आज एउटा युनिट सञ्चालनमा आएको छ भने अन्य पाँच वटा युनिट क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृह रहेको दोलखाको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत जोडिएको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।