काठमाडौं, ३१ असार । यही जुलाई २३ देखि सुरु हुने टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह तथा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन्।
पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले अनिवार्य सहभागिताअन्तर्गत ओलम्पिक खेल्न लागेका हुन्। कल्पना र सोनियाले भने वाइल्ड कार्ड पाएका छन्। टोकियो ओलम्पिकमा गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइल र एलेक्जेन्डरले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। यसैगरी कल्पनाले महिला १० मिटर एयर राइफल, सोनियाले ४८ केजी तौलसमूह र सरस्वतीले महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल छन्।
टोकियो ओलम्पिकमा पाँच खेलाडी र चार प्रशिक्षक बाहेक अन्य २१ जना अफिसियलका रूपमा सहभागी हुँदै छन्।