काठमाण्डौ १३ पौष । एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३(२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।
पहिलो सेट नेपालले २६(२४ ले जितेको थियो। दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६(२४ ले नै विजयी भयो। तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखायो। नेपाल २५(१५ ले विजयी हुन सफल भयो। चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो। चौथो सेट २४(२२ ले जित्दै उज्वेकिस्तानले खेललाई २(२ को बराबरीमा ल्यायो। निर्णायक पाँचौ सेट १५(१० ले जित्दै नेपाल च्याम्पियन भयो।
प्रतियोगिताको फाइनलमा पुग्ने क्रममा नेपाल अपराजित रहेको थियो। नेपालले समूह चरणको पहिलो खेलमा रोमाञ्चक जित हात पारेको थियो।श्रीलंकाविरूद्धको पहिलो खेलमा सुरूवाती दुई सेट गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गरेर ३(२ को जित हात पारेको थियो। समूह चरणमा नेपालले श्रीलंकाविरुद्ध बाहेक अन्य टिमसँग कुनै सेट पनि गुमाएन। नेपालले त्यसपछि बंगलादेश, माल्दिभ्स र उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। समूह चरणको अन्तिम खेलमा किर्गिस्तानविरूद्ध पनि ३(० कै जित हात पारेपछि नेपाल समूह चरणमा अपराजित बनेको थियो।