काठमाण्डौ १८ पुस । रासायनिक मल किन्दा भ्रष्टाचार गरेको आरोपमा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी सहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी सहित कम्पनीकै विष्णुप्रसाद पोखरेल, दुर्गाप्रसाद पाण्डे र पुष्कर दीप बुढाविरुद्ध एक अर्ब त्रिपन्न लाख बाइस हजार चार सय रुपैयाँको बिगो जरिबाना र हदैसम्मको कैद सजाय माग गरेर मुद्दा दायर गरेको हो । उनीहरूले कम गुणस्तरको डीएपी मल खरिद गरी आर्थिक अनियमितता गरेको अख्तियारको आरोप छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडले विना प्रतिस्पर्धा प्रमाणपत्र अद्यावधिक नगरेको संस्था नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिसलाई मलको गुणस्तर परीक्षण प्रतिवेदन दिन लगाएको देखिएको अख्तियारले जनाएको छ ।
यस्तै गलत प्रतिवेदन तयार गर्ने÷गराउने कार्यमा संलग्न नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिसेसका प्रबन्ध निर्देशक सलिल देवकोटा, प्रयोगशाला निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्र कुमार डागा, प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी र कम्पनी सर्भिसेसबीच संस्थाका तर्फबाट सम्झौता गर्ने मनोज आचार्य समेत दोषी रहेको अख्तियारले जनाएको छ ।
उनीहरुविरुद्ध पनि एक अर्ब त्रिपन्न लाख बाइस हजार चार सय छ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको छ । यस्तै गुणस्तरहीन मल ल्याउने आपूर्तिकर्ता जोशी विज हाउसका विनित जोशीविरुद्ध पनि एक अर्ब ५३ लाख २२ हजार रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।