पोखरा, २८ साउन । गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली काँग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन हुनुभएको छ । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गर्नुभएको हो ।
पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा सचेतक गौतमलाई नियुक्त गर्नुभएको हो ।
यसैगरी सचेतक पदमा स्याङ्जाका भागवतप्रकाश मल्ल नियुक्त हुनुभएको छ । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त हुनुभएको हो ।
नेपाली काँग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएको हो ।