स्याङ्जा १ माघ । जिल्ला प्रशासन कार्यलय स्याङ्जाले पुस मसान्त राती १२ बजेदेखि लागू हुनेगरी र अर्को आदेश जारी नएसम्मका लागि जिल्लाभर कोरोना संक्रमण रोकथाम आदेश जारी गरेको छ ।
नेपाल लगायत स्याङ्जामा पनि तीव्ररुपमा भाररस संक्रमण बढ्दो देखिएकाले जिल्लाभर लागु हुनेगरी सचेतरहि सुरक्षाका मापदण्ड अवलम्बन गर्नेगरी आदेश जारी भएको स्याङ्जा प्रशासनले जनाएको छ ।
गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र स्याङ्जाको बैठकको निर्णय समेतका आधारमा जिल्लाभरी लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रशासनले आदेश जारी गर्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन, महोत्सव तथा मेलाको आयोजना गर्न र सभा सम्मेलनमा रोक लगाएको छ ।
जिल्लाभर सार्वजनिक सेवा लिँदा माघ ७ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । जारी आदेश अनुसार सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ भने सिट क्षमता भन्दा बढी यात्रु बोक्न निषेध गरिएको छ । सवारी साधनमा लामो दुरीको यात्रा गर्दा खोप कार्ड अथवा कोभिड नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ । धार्मिक पारम्पारिक तथा सांस्कृतिक कार्य गर्दा भिड भाड नगरी घर परिवार मात्र सामेल भएर गर्नुपर्नेछ ।
बिद्यालय संचालन तथा १२ देखि १७ बर्ष उमेर सहूका बिद्यार्थीलाई कोभिड बिरुद्धको खोप लगाउन मन्त्रालयको बिज्ञप्ति अनुरुप लगाउन सकिने उल्लेख छ । औषधी लगायतका अत्यावश्यक वस्तु तथा सेवाको कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने र सहज आपूर्तिमा रोक लगाउने जस्ता कार्य भएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
पेशा व्यवसाय तथा उद्योगधन्दा सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न भनिएको छ । जारी आदेश पालना नगरेमा संक्रमक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने समेत प्रशासनको चेतावनीे छ ।