काठमाण्डौ १६ कात्तिक । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले हिजो सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति दिएको छ ।
पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज ९आईआईएक्स० मा बेच्न अनुमति दिइएको हो ।
दुई विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बेच्नका लागि अनुमति दिइएको छ । प्राधिकरणले आज मङ्गलवार राति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने छ । अहिले यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ ।
नेपालले भारतीय ऊर्जा एक्सचेन्ज ९आइआइएक्स० मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गएको वैशाख १७ गतेदेखि आवश्यक परेको बेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा बिजुली आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको बताउनुभयो ।