स्याङ्जा ८ असार । स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरु हस्तान्तरण गरिएको हो ।
कृषि औजार हस्तान्तरण गर्नुहुँदै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिंदै लागत घटाउन र उत्पादनमा बृद्धि गर्नकालागि कृषि औजारहरुको महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले अनुदानमा प्राप्त भएका कृषि औजारहरुको सही सदुपयोग गर्न पनि कृषकहरुमा आग्रह गर्दै आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने बताउनुभयो ।
कृषकहरुको माग र आवश्यकताका आधारमा सहकारीमार्फत कृषकहरुलाई कृषि औजारहरु उपलब्ध गराईएको संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । सहकारीमार्फत एघार वटा कम्बाईण्ड मिल र सात वटा हाते ट्रयाक्टर वितरण गरिएको अध्यक्ष खनालले बताउनुभयो ।
संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद श्रेष्ठले र स्वागत संस्थाका सदस्य क्याप्टेन ताराप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।