स्याङ्जा २५ कात्तिक । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ राष्ट्रिय जनगणना बिहिवारदेखि शुरु भएको छ ।
स्याङ्जामा ३ सय ९९ जना जना गणकहरु जनगणनाका लागी खटिएका तथ्यांक कार्यालय स्याङ्जाले जनाएको छ । ३९९ जना गणकहरुलाई ९९ जना सुपरिवेक्षकहरुले सहयोग गर्नेछन् । एक जना सुपरिवेक्षक बराबर झण्डै ४ जना गणकहरु राखिएका छन्। ।
गणक मार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावली मार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइ लगायत विवरण सङ्कलन गर्नेछन् ।दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गर्नेछन् । गणकहरुले घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछन् । जनगणनाका लागी ८० वडा प्रश्नावलीहरु समावेश गरीएका छन् । ती सबै प्रश्नका जवाफ सबैले दिनुपर्ने भने छैन ।
जिल्लाका ४ पालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरी गणनामा सहज बनाईएको छ । पुतलीबजार वालिङ, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिएका हुन् । पुतलीबजारमा स्थापित कार्यालयले पुतलीबजार सहित फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकाको जनगणना गर्नेछ ।
यसैगरी, वालिङको कार्यालयले वालिङ, चापाकोट, भिरकोट नगरपालिकाको र गल्याङमा स्थापित कार्यालयले गल्याङ र कालीगण्डकी गाउँपालिकाको जनगणना गर्नेगरी जिम्मेवारी तोकिएको छ । बिरुवास्थित कार्यालयले भने बिरुवा र हरिनास गाउँपालिकामा गणना गर्नेगरी सुपरीबेक्षक खटाइएका हुन् ।
पाँच नगर र ६ गाउँपालिकालाई समेट्नेगरी उनीहरुका लागि पायक पर्ने स्थान छनौट गरिएका हुन् ।
वालिङमा १८, पुतलीबजारमा १६, गल्याङमा १२, चापाकोटमा ९, भीरकोट नगरपालिकामा ९ जना सुपरीवेक्षक खटिएका छन । यसैगरी, बिरुवामा ७, फेदीखोलामा ६, अर्जुनचौपारीमा ६, कालीगण्डकीमा ६, आँधीखोला गाउँपालिकामा ६ र हरिनास गाउँपालिकामा ५ जना छन् ।
भदौ ३० गतेदेखि सुरु भएको पहिलो चरणको जनगणनाकालागि सुपरीवेक्षकले असोज १८ सम्म सूचि तयार गरेका छन् । यो दोस्रो चरणको गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । यो गणनामा गणकहरु तोकिएको क्षेत्रमा गएर विस्तृत गणना गर्ने जिल्ला जनगणना अधिकारी शारदा शर्माले जानकारी दिनुभयो ।
२०६८ को जनगणना अनुसार स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १ सय ४८ छ । जसमा पुरुष १ लाख २५ हजार ८ सय ३३ र महिला १ लाख ६३ हजार ३ सय १५ रहेको छ । जिल्लामा ६८ हजार ८ सय ८१ घरधुरी छन ।