स्याङ्जा, १५ कात्तिक । यही कात्तिक महिनामा स्याङ्जामा राष्ट्रिय परिचयपत्रको बिवरण संकलन अभियान सुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्धारा आज आयोजित अन्तरक्रिया सहित समन्वय बैठक मार्फत सो को जानकारी गराइएको हो ।
गृह मन्त्रालयद्धारा खटिआएका प्रबिधि सहितका ६० जना कर्मचारीले स्याङ्जामा राष्ट्रिय परिचयपत्रका विबरण संकलन गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिनुभयो । उहाका अनुसार यहाँका ११ पालिकामा झण्डै ४ महिना लाग्ने र आवश्यक सहयोगका लागि स्थानीय पालिकाले समन्वय गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभागका निर्देशक बिष्णुहरी उपाध्यायले राष्ट्रिय परिचयपत्रको आवश्यकता र यसका उपयोगिताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । अन्र्तक्रियामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले ब्यक्ति पहिचानका लागि पर्याप्त विवरण सहितको बन्ने राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, पुतलीबजार नगर प्रमुख सीमा क्षेत्री लगायतले यस अभियानलाई आवश्यक सहितको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले संचालन गर्नुभएको थियो ।
यसैगरी, कात्तिक १७ गते (बुधवार) सिद्धार्थ राजमार्ग अन्र्तगतका सडकका भएका खाल्डाखुल्डी पुर्ने अभियान सुरु गरिने भएको छ । फेदिखोलाको कुभिण्डेदेखि गल्याङ्को राम्दीसम्मका भए गरेका खाडल पुर्नका लागि सम्बन्धित पालिका, सडक बिभाग, सुरक्षा निकाय, निर्माण कम्पनी र स्थानीय सरोकारवाला सबैलाई आ आफना निर्माण सामाग्री सहित १० बजे सिद्धार्थ राजमार्गमा आउन आग्रह गरिएको प्रअिज पौडेलले जानकारी दिनुभयो ।
बैठकमा नियमित बजार अनुगमन र सरकारी कार्यालयबाट दिईने सेवा प्रवाहमा छिटो छरितो र सहज बनाउने लगायतका बिषयमा छलफल एवं निर्णय भएका छन्।