स्याङ्जा ११ असोज । वालिङ् नगरपालिका १२ शिर्शेकोट स्थित कोखेमा तेस्रो कोखे महोत्सव हुने भएको छ। बिजयादशमीको दिन १९ गतेदेखि २४ गतेसम्म महोत्सव गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।
‘ग्रामिण पर्यटनको विकास राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ स्थानीय नवज्योति जनसेवा युवा क्लबले जनाएको छ।
छ दिने महोत्सवमा स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै ग्रामिण पर्यटनको विकासका लागी महोत्सव गरिने भएको आयोजकको भनाई छ। स्थानीय कला, संस्कृति, खेलकूद र उत्पादनलाई बिशेष प्रर्दशन गरिने भएको छ।
यसैगरी, ठुलो धनराशीको क्लब स्तरीय भलिबल प्रतियोगिता हुनेछ। त्यस्तै ३८ वर्षभन्दा माथिकालाई भेट्रान्स भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, मौलिक संस्कृति सोरठी, रेलीमै लगायतका प्रर्दशनीका साथै अन्य कलाकारको समेत प्रस्तुति राखिने क्लबका पुर्व अध्यक्ष गुप्तबहादुर गुरुङले जानकारी दिनुभयो ।
भलिबल प्रतियोगितामा विजेताले १ लाख १ हजार नगद सहित ट्रफी, द्धितियले ६० , तृतियले ३० हजार र सान्त्वनाले १५ हजार पाउनेछन्।
महोत्सवमा १८ लाख ७० हजारको आय र १८ लाख २१ हजारको खर्च लाग्ने र बचत रकम गाउँमै पर्यटन पुर्वाधार विकासमा खर्च गरिने जनाईएको छ ।
महोत्सवमा युवा तथा खेलकुद मन्त्रालय, स्थानीय पालिका तथा वैदेशिक रोजगारीका क्रममा विदेशमा रहनुभएका युवाहरुको सहयोग रहनेछ्।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले वैदेशिक रोजगारमा पुगेका कोखेबासीको सहयोग तथा क्लबको पहलमा महोत्सव आयोजना गरिएको बताए।
स्याङ्जा सदरमुकामदेखि करिब ३५ किलोमीटर सिद्धार्थ राजमार्ग (वालिङ १३) को बायँटारीबाट १३ किलोमिटर पश्चिमतर्फको गाउमा रमणीय कोखे गाउँ पर्दछ। सोही सुन्दर रमणीय गाउँलाई पर्यटनसंग जोड्ने उदेश्यले क्लवले नै यसअघि २ पटकसम्म कोखे महोत्सव सम्पन्न गरिसकेका छन्। त्यहाँ अहिले केही पूर्वाधार समेत निर्माण गरिसकेका छन्।
महोत्सव समितिका संयोजक भविराज गुरुङ, मञ्च व्यवस्थापन समितिका संयोजक हुमराज गुरुङ लगायतले महोत्सव सफल बनाउने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । महोत्सवमा करिब १० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ।
महोत्सव अवसर पारेर स्थानीय कोखे ग्रामिण पर्यटकीय गाउँको विस्तार एवं प्रर्वद्धन गरिने भएको छ। क्लवले यसअघि २०६९, २०७४ मा पहिलो र दोश्रो कोखे महोत्सव सम्पन्न गरिसकेको छ।