स्याङ्जा १६ कात्तिक । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
यहाँका १९९ मतदानस्थलमध्ये ६१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएका छन् ।
जिल्लाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ । विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।
मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको र सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय सहितको टोलीले स्थलगत अनुगमनको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो ।
दुई संघ र ४ प्रदेश निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ सय ९९ मतदान केन्द्र छन् । जिल्लामा दुई लाख ४४ हजार ८९ मतदाता छन । तीमध्ये १ लाख २४ हजार ७७८ महिला, १ लाख १९ हजार ३१० पुरुष र १ अन्य मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।