स्याङ्जा ४ चैत । नवआगन्तुक स्याङ्जा प्रहरी प्रमुख र जिल्लामा कार्यरत पत्रकारबीच परिचय कार्यक्रमसंगै समसामयिक बिषयका बारेमा छलफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शालिकराम शर्माले समग्र जिल्लाको शान्ति, सुरक्षा, अमनचयन लगायतका बिबिध गतिबिधिमा प्रहरी प्रशासनलाई संचारजगत र नागरिक समाजको सकारात्मक सहयोग आवश्यक रहने बताउनुभयो ।
उहाँले एक महिनाअघि सरुवा भएर आएको जनाउदै जिल्लाका बस्तुस्थितीका बारेमा जानकारी लिएर पत्रकारसंग भेटघाटको समय मिलाएको उहाले भन्नुभयो । स्याङ्जाको प्रहरी प्रशासनलाई आफुले अनुसन्धानात्मक र ब्यवस्थापनको पाटोलाई मजबूत बनाउदै अघि बढ्ने जानकारी गराउनुभयो ।
अन्य जिल्लाका तुलनामा स्याङ्जाको अवस्था ठिकै रहेको जनाउदै स्थानीयबासी, पत्रकार र प्रहरीको समन्वयात्मक र सहकार्यले नै जिल्लाको अवस्था राम्रो हुनेमा उहाले जोड दिनुभयो । आपराधिक एवं बिबिध घटनालाई न्युनिकरणका लागि प्रहरीले जनचेतनामूलक कार्यक्रम सहित प्रहरीको निगरानी र गस्ती बढाउदै लैजाने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।
आफुले सम्हालेपछिको एक महिना अवधिमा प्रहरी कार्यालयबाट भएका कार्य सम्पादनको बारेमा जानकारी गराउनुभयो । एक महिनामा जिल्लाभर १८ वटा बिबिध शिर्षकमा २ सय ९ स्थानमा जनचेतनामूलक कार्यक्रम भएको जानकारी गराउनुभयो ।
उहाँका अनुसार ट्राफिक सचेतना सम्बन्धी १२६ वटा, घरेलु हिंसाका १७ वटा, चोरी सम्बन्धीका १५ वटा, लागु औषधका १३ वटा, जवरजस्ती करणी सम्बन्धी ७ वटा, साइबर अपराधका ६ वटा, आत्महत्याका ५ वटा, अल्पसंख्याक जातिका लागि ५ वटा, यौनजन्य हिंसाका एउटा, महिला हिंसाका ३ वटा, सरसफाईका ३ वटा, मानववेचविखनका २ वटा, बालविवाहका÷बन डढेलो÷ सडक सुरक्षा÷ आगोलागी नियन्त्रण डेमोस्ट्रेशन÷ जिंगल प्रशारण ÷लैगिक हिंसाकागरी एक÷एक वटा जनचेतनामूलक कार्यक्रम गरिएका छन ।
प्रहरी प्रमुख शर्माका अनुसार, ‘फागुन महिनाको ११ गतेदेखि मसान्तसम्ममा अपराध सम्बन्धी ११ वटा मुद्धा दर्ता भएको रे ७ जना मानिस पक्राउ परेका छन । पेण्डिङमा रहेका १३ मुद्धा फस्यौट भएको, तेह्र जना फरार प्रतिवादी पक्राउ गरिएको र उनीहरुबाट ५३ हजार ७८० राजस्व सहित ४ महिना २० दिन कैद समेत असुल भएको छ । ट्राफिक प्रहरीले ५ सय ९७ सवारी साधन कारवाहीवबाट ४ लाख ५६ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । वडा प्रहरी कार्यालय वालिङले फागुन १७ र २५ गतेगरी बिभिन्न नामका लागु औषध २ सय १८ एम्पुल नियन्त्रणमा लिएको छ ।’ शान्ति सुरक्षाका लागि ग्रामिण गस्तिमा समेत परिचालन गरिएको उहाले भन्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघको अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, प्रेस यूनियन स्याङ्जाका निवर्तमान अध्यक्ष प्रदीप कोइराला, संचारकर्मी नारायण कोइराला र जीवन अर्याल लगायतले स्याङ्जाको पत्रकारिताका अवस्था र जिल्लाका विकास तथा गतिबिधिका बारेमा प्रहरीलाई जानकारी एवं जिज्ञासा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले गर्नुभएको थियो ।