झण्डै ४० वर्षअघि निर्मित जीर्ण कारागार, त्यसैमाथि क्षमताभन्दा तेब्बर कैदीबन्दी । केही वर्ष पहिलेको ३५ जना बन्दी राख्ने क्षमता बढाएर ५० जना पु¥याएको कारागारमा अहिले १४२ जना कैदीबन्दी छन् । खाली ठाउँ, बरन्डा र भेटघाट गर्ने स्थललाई घेरेर कोठा बनाइएका छन् ।
स्याङ्जा कारागार स्थापनापछि पुनर्निर्माण हुन सकेको छैन । तत्कालीन सदरमुकाम नुवाकोटबाट २०३७ सालमा स्याङ्जा सदरमुकाममा झारिएको कारागार पछिल्ला केही वर्ष मर्मत र टालटुले व्यवस्थापन गरिँदै आएको छ । २०७२ सालको भूकम्पले समेत कारागारका भित्ताहरु चर्केका छन् । वर्षात्को समयमा पानी चुहिने छाना छन् ।
नागरिक स्वतन्त्रताका लागि आन्दोलनमा होमिएका बखत तत्कालीन शासकले पक्राउ गरी यही कारागारमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्व मन्त्रीहरु चिरञ्जीवी वाग्ले र दीनबन्धु अर्याल लगायतका थुप्रेै शीर्ष नेताहरुलाई राखिएको थियोे । त्यही कारागारमा आश्रय लिएका उनीहरुको जीवन शैलीमा ठूल्ठूला परिवर्तन आए । देश विदेश सयर गरेर मानवअधिकारका ठूल्ठूला भाषणमा रमाए । देशकै नागरिक जो कैदी जीवन बिताइरहेका छन् उनीहरुको मानव अधिकार खै ? मौलिक हकको कार्यान्वयन खै ?
नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन,’ भनी उल्लेख गरेको छ ।
सोही धाराको १, २ र ३ उपधारामा पनि प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारका सम्बन्धमा जानकारी पाउने हक, स्वास्थ्य सेवामा समान पहुँचको हक र प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको सुनिश्चिता गरेको छ ।
जनस्वास्थ्य ऐन २०७५ जारी भई कार्यान्वयनको अवस्थामा छ । नेपालको संविधानले प्रत्याभूत गरेको निशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुँच स्थापित गर्न आवश्यक कानुनी गर्न वाञ्छनीय भएकाले संघीय संसदले ऐन बनाएको भनी ऐनको ऐनको प्रस्तावनामा उल्लेख गरिएको छ । तर, स्याङ्जाका कैदीबन्दी भने सामान्य मास्कबाट समेत बञ्चित छन् । यसो हुनु दुखद पक्ष हो ।
उल्लेखित संवैधानिक तथा कानुनी व्यवस्थाले आम जनताको स्वास्थ्यसम्बन्धी हकको प्रत्याभूति गरेको छ । कोरोना महामारी बेला आम नागरिक आधारभूत स्वास्थ्य सुरक्षाका सामान्य सामग्रीबाटै बञ्चित हुनु सामान्य होइन, यो चरम बेवास्ता र लापरबाही हो ।
विभिन्न अभियोगमा कैदीबन्दी जीवन बिताइरहेकाका लागि स्वास्थ्य सुरक्षाका सामग्री राज्यले तत्काल उपलब्ध गराउनै पर्दछ । न उनीहरु बाहिर आएर खरिद गर्ने अनुमति छ, न त उनका परिवार नै अहिले कारागार पुगेर ती सामग्री दिनसक्ने वातावरण छ । यस्तो अवस्थामा ती कैदीबन्दीको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । राज्यले अब अलमल नगरोस् । तत्काल अहिले अत्यावश्यक मानिएका स्वास्थ्य सामग्री मास्क, सेनीटाइजरको व्यवस्था गरोस् ।
तनक्क हात खुट्टा तन्काएर सुत्न नपाउने कारागार शाखामा सामाजिक दूरीका कुरा त आकाशको फल नै हो । शाखामा खानेपानी, शौचालयको पनि राम्रो प्रबन्ध छैन । आधारभूत आवश्यकता र पुनर्निर्माणमा बजेट निकासाका लागि संघीय तथा प्रदेश सरकारलाई अनुरोध गरिए पनि बजेट आएको देखिँदैन । समस्याबारे पटक पटक विभागलाई जानकारी पठाए पनि कार्यान्वयन नभएको कारागार प्रशासन बताउँछ ।
दोस्रो चरणको कोरोना संक्रमणको त्रास फैलिएको महिना दिन कटिसकेको छ । जिल्लामा संक्रमितको संख्या १ हजार ३ सय नाघेको छ । दैनिक १ जनाभन्दा बढीको ज्यान गइरहेको छ । वैशाख यता कोरोना संक्रमणकै कारण ५५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
नयाँ भेरियन्टका रुपमा देखिएको कोरोनाले सबैका मथिंगलमा हलचल मच्चाएको छ । सबैका मनभित्र १ किसिमको डर र त्रास भरिएको छ । मास्क, सेनिटाइजर र भौतिक दूरी दैनिकीका शब्द बनेका छन् । सायद यीभन्दा नजिकका शब्द अहिले केही अरु छैनन् । सबैलाई सुरक्षित बस्नुस् । घरमै बस्नुस् । सुरक्षाका मापदण्ड अवलम्बन गर्नुस् । सामाजिक दूरी कायम गर्नुस् भन्दै सुझाव दिन सबैलाई सजिलो छ । सुरक्षित बस्ने तरिका र माध्यम उपलब्ध गराउन किन कन्जुस्याइँ त?
कोरोना महामारीको यहाँका कैदीबन्दीलाई संक्रमणले छुन नसकोस् हाम्रो कामना छ । यसतर्फ कारागार प्रशासन सचेत देखिन्छ । सुरक्षित रहने मापदण्ड पालनामा प्रशासनले अवलम्बन गरेका प्रयास राम्रै छन ्। भित्र र बाहिर आवतजावतमा नियन्त्रण गरिएको छ । सुरक्षाका मापदण्ड पूरा गरी सीमित व्यक्तिले मात्र अनुमति पाउँछन् ।
यत्तिले मात्र कोरोना छेक्दो रहेनछ । धेरै जानेबुझेका र मृत्युवरण गरेका समाचार आउँदा पत्याउनै नसकिने व्यक्तिको पनि मृत्यु भएको छ । चिकित्सकले समेत बिरामीको उपचारका क्रममा संक्रमित भई ज्यान गुमाएका छन् । यसैले समयमै सोचौं । समयमै सुरक्षाका मापददण्ड अवलम्बन गरौं । सुरक्षित बनौं । अरुलाई पनि सुरक्षित राखोैं ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको कारागारमा १ जनामा कोरोना संक्रमण देखिए नियन्त्रणबाहिर पुग्ने निश्चित छ । यसतर्फ अहिल्यै सचेत रहन जरुरी छ । कोरोनाको पहिलो चरणमा कारागार सुरक्षार्थ खटिएका ३ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो । समयमै उपचार पाएर उनीहरु निको भए । दोस्रो र तेस्रो भेरियन्टको संक्रमण दर तीव्र छ ।
कैदीबन्दीमध्ये कोही कसैमा संक्रमण देखिए के गर्ने भन्नेबारे कारागार प्रशासनको कुनै योजना देखिँदैन । सम्भावित संक्रमित कैदीबन्दीलाई आइसोलेसनमा राख्ने पनि योजना छैनन् । कुनै लक्षण देखिएमा पनि उनीहरुका लागि राख्ने क्वारेन्टिन र आइसोलेसन कक्ष बनाउनेसमेत कोठा छैनन् यहाँ । समयमै सचेत बनौं, पछि पछुताउन नपरोस् ।