काठमाण्डौं ४ माघ । सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।
बैठकपछि समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल गरिएको बताउनुभयो । उहाँले स्थानीय तहको चुनावलाई समयमै सम्पन्न गर्ने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो । मिति घोषणा गर्नेबारे भने निर्वाचन आयोगसँग फेरि परामर्श गरिने उहाँको भनाइ छ ।
बैठकमा मूल रुपमा दुईटा कुरामा छलफल केन्द्रित रहयो। १२ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको विजयलाई कसरी सुनिश्चित गर्ने, र अर्को, समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो।
निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । समितिको अर्को बैठकबाट स्थानीय तहको चुनावको मिति तय गर्ने तयारी छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा सम्पन्न छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।