स्याङजा, २३ पुस । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्थानीयस्तरमा नै उपलव्ध र उत्पादन हुने सामाग्रीहरुको प्रयोग गर्न व्युटिसियनहरुलाई आग्रह गर्नु भएको छ ।
स्थानीयस्तरमा नै उत्पादन हुने सामाग्रीहरु सौन्दर्यको लागि प्रयोग गर्न सकिन्छ,जसले गर्दा पैसा बाहिर जानबाट रोक्न सम्भव हुन्छ उहाले भन्नुभयो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘सक्षम महिला समानान्तर पाइला कार्यक्रम’ अन्तर्गत महिला उद्यमशिलता कार्यक्रम अनुशार वालिङका व्युटिसियनहरुको दक्षता तथा सीप बृद्धिका लागि सञ्चालन गरिएको तालिममा बोल्दै मन्त्री श्रेष्ठले महिलाहरुलाई उद्यमी र व्यवशायीक बनाउन प्रदेश सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।
सीप सिक्ने मात्रै होईन त्यसलाई व्यवहारमा उतार्न मन्त्री श्रेष्ठको आग्रह छ । प्रदेश सरकारले ८ फरक फरक बिधामा महिलाहरुलाई उद्यमी बनाउन र सक्षम बनाउनका लागि काम गरिरहेको उहाँको भनाई छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले समाजको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रवक्ता एबं वडा नं. १ का अध्यक्ष पदमराज गुरुङ, व्युटिसियन एसोसिएसन गण्डकी प्रदेशका उपाध्यक्ष चुत्रकुमारी थापा, व्युटिसियनहरु विना गुरुङ, बर्षा पंगेनी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सात दिने सो तालिममा मोडल मेकअप, फेसन मेकअप, ब्राइडल मेकअप, रिसेप्सन, ईन्गेजमेन्ट मेकअप तथा रसियन हेयर जुरो लगायतका अत्याधुनिक शैलीहरु सिकाईएको अध्यक्ष पुष्पा अर्यालले जानकारी दिनुभयो ।
ब्यूटिशियसन एशोशियसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव पमिला गुरुङले गर्नुभएको थियो भने तालिममा २५ जना महिला ब्यूटिशियसनको सहभागीता थियो ।