काठमाण्डौ २२ जेठ । सेनाको अगुवाइमा भएको सफा हिमाल अभियान(२०२१ सम्पन्न भएको छ। नेपाली सेनाले जंगी अड्डामा भर्चुल कार्यक्रम गर्दै औपचारिक कार्यक्रम सम्पन्न भएको जानकारी गराएको हो। सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरेर ६ हिमालको सफाइको योजना साथ २०७७ चैत ३१ गतेबाट सुरु भएको अभियान जेठ १५ गतेसम्म सञ्चालन भएको थियो। अभियानको क्रममा २७ हजार ६७१ केजी फोहोर संकलन भएको थियो। जसमध्ये २५ सय ५ केजी फोहोर कुहिने र २५ हजार १६६ केजी फोहोर संकलन भएको हो। कुहिने फोहोर स्थानीय निकायलाई हस्तान्तरण गरिएको र नकुहिने फोहोर रिसाइक्लिङ एजेन्सीलाई दिएको सेनाले जनाएको छ। फोहोर सफाई अभियानको क्रममा सेनाले धवलागिरीको आधार शिविरमा दुई, सगरमाथाको क्याम्प ४ मा दुई गरेर चारवटा शव भेटिएको थियो।
कार्यक्रममा हिमाल सफाई अभियानका निर्देशक तथा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु थापाले फोहोर सफाइको अनुभव सुनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाका उपरथी गोकुल भण्डारीले अभियानका सहयोगी संस्था नेपाल पर्वतारोहण संघ, हिमाल उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र, कोकाकोला कम्पनी, युनिलिभर नेपाल, डब्ल्यूडब्ल्यू एफ नेपाललगायतको सेवाको लागि धन्यवाद दिनुभयो। नेपाली सेनाले विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गर्दै हिमाल सफाई चुनौतीपूर्ण भएको बताएको छ।