स्याङ्जा १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको पहलमा सिद्धार्थ राजमार्ग अन्र्तगतका खाल्डाखुल्डी पुर्ने अभियान आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ ।
पोखरा सुनौली राजमार्ग अन्र्तगतको फेदिखोलादेखि गल्याङ नगरपालिकाको राम्दी पुलसम्मका खाल्डाखुल्डी पुरी सडक निर्माण कार्यमा जुट्न प्रशासनको आग्रह छ । लामो समयदेखिका राजमार्गमा भएका खाल्डाखुल्डीका कारण पैदलयात्री तथा सवारीयात्रुले समेत हैरानी भोग्नु परेको छ ।
स्याङ्जा खण्डको करिव ८० किलोमिटर राजमार्गलाई सहज बनाउने कार्यक्रमा जुट्न सडक कार्यालय, निर्माण ब्यवसायी, प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नेपाली सेना, जिल्लाका ११ वटै पालिका र जिल्ला स्थित विभिन्न सामाजिक संघसंस्थालाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने अभियानमा सहभागी हुन र आ—आफ्ना क्षेत्रभित्रपर्ने राजमार्गलाई सरसफाई गरिने भएको हो । स्वतस्फुर्तरुपमा सहभागी भई आ आफना घरमा उपलब्ध भएका निर्माण सामाग्री सहित आज बिहान १० बजे सिद्धार्थ राजमार्ग अन्र्तगत आफुलाई पायक पर्ने स्थानका बसेर खाल्डाखुल्डी पुर्ने अभियानमा सहभागी हुन स्याङ्जा प्रशासनको आग्रह छ ।
आज एकैसाथ सबै पालिकाले आ आफना पालिकाबाट सरसफाई सहित सडक मर्मत अभियान सुरु गर्ने भएका छन्। खाल्डाखुल्डी पुर्ने अभियानलाई जिल्लाका ११ वटै पालिकाका प्रमुख तथा सुरक्षा निकाय लगायत सरोकारवालाबीच सोमबार बसेको समन्वय समितिको बैठकले निर्णय गरेको थियोे ।