स्याङ्जा ५ भदौ । स्याङ्जाका साहित्यकार एवं पुतलीबजार नगरपालिका प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी मनास्लु साहित्यदूत सम्मानबाट सम्मानित गरिने भएको छ ।
नेपाली भाषा साहित्यका लागि पुरयाउदै आउनु भएको योगदानको कदर गर्दै उहालाई आउदो कात्तिक १० र ११ अर्थात अक्टोबर २६ र २७ गते काठमाण्डौंमा सम्मान गरिने भएको हो ।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा काठमाण्डौमा हुने दुई दिने विश्व साहित्य सम्मेलनमा सो सम्मान समर्पण गरिने विश्व नेपाली साहित्य महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारी दिनुभयो ।
विश्व नेपाली साहित्य महासंघमा विश्वका २५ देशमा र नेपालका ५१ जिल्लामा शाखा तथा उपशाखा रहेका छन । करिब १५ बर्षअघि स्थापना भएको संस्थाले यस पटक हिमालको नामबाट साहित्यदूत सम्मान गर्नै निर्णय भए बमोजिम साहित्यकार अधिकारीलाई साहित्यदूत मनास्लु सम्मान समर्पण गरिने भएको हो ।
विश्वमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये नेपालमा ८ वटा रहेको र तिनै हिमालहरुलाई चिनाउने उदेश्यले हिमालको नाउबाट सम्मान गरिने भएको महांघले जनाएको छ ।
स्याङ्जालाई कर्मथलो बनाएर जीवनको उर्वर समयदेखि साहित्य, शिक्षा र राजनीतिमा बिताउनु भएका अधिकारी हाल स्याङ्जा जिल्ला साहित्य प्रतिष्ठानका अध्यक्ष पनि हुनुहुन्छ ।