स्याङ्जा. २६ भदौ । हिन्दु महिलाहरुको महान पर्व तीजको आज अन्तिम दिन सप्तऋषिको पुजाआजा गरेर सकिदैछ छ ।
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइएको हो । सप्तऋषिको पुजासंगै यसबर्षको तीज पनि सकिएको छ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोलामा गएर बिबिध चरणमा नुवाइधुवाइ गर्नुका साथै ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने प्रचलन छ ।
स्नान गरेपछि मध्यान्हमा अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज देशभरका ऋषेश्वर मन्दिर लगायत घर तथा चौरमा बसेर सामुहिक पुजाआजा सहित नाचगान गरेर यसबर्षको तिजको विदाई गरिदैछ ।