स्याङ्जा १८ भदौ । पुतलीबजार नगरपालिकाले प्रारम्भिक बालविकासदेखि ५ कक्षा सम्म अध्ययरत बालबालिकालाई दिवा खाजा वापत जनही १० रुपैंया थप दिने भएको छ। नगरले थपेसंगै अव यहाँका बिद्यार्थीले २५ रुपैंया बराबरको दिवा खाजाको सुबिधा पाउने भएका छन ्।
यही साउन महिनादेखि लागु हुनेगरी नगरसभाले गरेको सो निर्णयलाई कार्यान्वयन सुरु गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
प्रमुख रेग्मीका अनुसार, ‘संघिय सरकारले उपलब्ध गराउदै आएको खाजा वापतको दैनिक १५ रुपैंयामा पुतलीबजारले १० रुपैंया थप गर्ने भएको हो। यो संगै नगरभित्रका प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्म अध्ययरत प्रत्येक बालबालिकाले दैनिक २५ रुपैंया बरावरको खाजा खान पाउने छन्।’
बढ्दो महंगीलाई ध्यान दिदै र सामुदायिक बिद्यालयमा बिद्यार्थीको आर्कषण बढाउन पनि यस्तो अभियान संचालन गरिएको उपप्रमुख देवी अर्यालको भनाई छ ।
एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा अपडेट गरिएका तथ्यांकलाई आधार मानेर सो रकम उपलब्ध गराईने अर्यालले जनाईन्। गत बर्ष पनि बालबालिकाको खाजाका लागि भन्दै नगरपालिकाले थप ५ रुपैंया उपलब्ध गराएको थियो।
पुतलीबजार नगरपालिकाभित्र प्रारम्भिक बालविकासतर्फ २० वटा र प्रारम्भिक बालविकास सहित प्लस १२ सम्मका ४७ वटा बिद्यालय छन्। ती बिद्यालयमा अध्ययरत २ हजार ३०७ जना बालबालिकाले सो सुबिधा लिने नगर शिक्षा शाखा प्राबिधिक सहायक (पाँचौ तह) का शोभा बस्यालले जानकारी दिनुभयो ।
नगरपालिकाको सो निर्णयप्रति अभिभावक र बिद्यार्थी दुबैले खुशी ब्यक्त गरेका छन्।