स्याङ्जा १६ पुस । स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघ यतीबेला आठौं वालिङ महोत्सव २०८० को तयारीमा जुटेको छ । सातौ महोत्सव सफलतापुर्वक सम्पन्न गरेको वालिङ उद्योग वाणिज्य संघले आठौं महोत्सवको तयारीमा जुटेको हो ।
माघको १८ गतेदेखी २८ गतेसम्म आयोजना हुने आठौं वालिङ महोत्सव २०८० को मिति तोकिएपनि अहिले सम्म कुन ठाउँमा गर्ने हो भन्ने टुङ्गोमा पुग्न सकेको छैन । मिति तय गरिपनि स्थान अन्योलमा हुँदा वालिङमा महोत्सव हुन्छ या हुदैन भन्ने बहस पनि चल्न शुरु भएको छ ।
सातौ महोत्सव सम्म वालिङ खेलमैदानमा सम्पन्न गरेको संघले आठौ महोत्सव खेलमैदानमा हुन्छ भनेर भन्न नसक्दा महोत्सव हुने स्थान अन्योलमा परेको हो । वालिङ नगरपालिकाले राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङ खेलमैदानमा आयोजना गर्दा झण्डै ५० लाखको लागतमा हरियो दुवो लगाएको थियो ।
अहिले दुवो लगाएको ठाउँमा नगरपालिकाले संरक्षण गर्ने भन्दै तारबार लगाएको छ । खेलमैदानलाई नगरपालिका र केही युवाक्लवले तारवार लगाएपछि महोत्सव खेलमैदानमा गर्ने निर्णय वालिङ उद्योग वाणिज्य संघले नसकेको हो । मितितय गरेर संघले महोत्सव आयोजना गर्न स्थानीय सरकारलाई खेलमैदान उपलब्ध गराइदिन माग गरेपछि नगरपालिकाले अहिले सम्म पनि खेलमैदान दिने वा नदिने भन्ने बिषयमा समेत अन्योल छ ।
महोत्सव आयोजना गर्न दिदा उक्त संरचना भताभुङ् हुने डरले नगरपालिकाले खेलमैदान भन्दा पनि बसपार्कमा महोत्सव गर्न सुझाव दिएको छ । तर महोत्सव खेलमैदानमै गर्ने व्यवस्था मिलाईदिन संघले आग्रह गर्दै आएको छ । यो चरण झण्डै एक महिनादेखी चलिरहेको छ । महोत्सवको स्थान अन्योलमा हुँदा वालिङ ९ का वडावासीले औद्योगीकग्राम बैडीमा गर्न माग गर्दै नगरपालिका र वालिङ उद्योग वाणिज्य संघमा डेलिगेन समेत गरेका छन् ।
लाखौं रुपैया खर्चेर निर्माण गरिएको खेलमैदानलाई संरक्षण गर्नुपर्ने र महोत्सव बैडीमा गर्दा राम्रो हुने सुझाव सहित वालिङ ९ का वडावासीले नगरपालिका र संघलाई दवाव दिदै आएका छन् । महोत्सव गर्ने स्थानको टुङ्गो नलगाई संघले मितितय गरेपछि पछिल्लो समय महोत्सव गर्ने स्थान तानातानमा परेको छ ।
वालिङ ९ मा रहेको औद्योगीकग्राममा महोत्सव गरेर पछाडी परेको वडालाई अगाडी ल्याउन आग्रह गर्दै डेलिगेसन गएको वडा अध्यक्ष अमृत श्रेष्ठले बताउनुभयो । खेलमैदानमा गरिएको लगानीलाई संरक्षण गर्नुपर्ने दायीत्व हामीसबैको भएको र महोत्सव गर्न बैडीमा पनि प्रसस्त जमिन भएकाले संघका पदाधिकारीलाई अनुरोध गरेको उहाले बताउनुभयो ।
यता संघका अध्यक्ष चेतनारायण श्रेष्ठले नगरपालिकाले खेलमैदानको बिषयमा टुङ्गो नलगाईदिदा स्थान अन्योलमा परेको स्विकार गरेका छन् । नगरपालिकाले लगानी गरेको दुवोलाई जस्तातस्तै बनाईदिन्छौ भनेर भनेका छौं अध्यक्ष श्रेष्ठले भन्नुभयोे,‘यस बिषयमा नगरपालिकाले सहयोग नगर्दा अन्योलमा प¥यौं ।’ मेला गर्नका लागि बसपार्क ठिक छ तर संघले महोत्सव गर्ने हो त्यसैले खेलमैदानमै हुनपाउनुपर्छ उहाले भन्नुभयो ।
अब छिट्टै महोत्सव खेलमैदानमै गर्न पाउनेगरी नगरपालिकाले टुङ्गाउनेमा हामी विश्वस्थ रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यहाँका उद्योगी व्यवसायीले वालिङ चिनाउन आयोजना गरेको महोत्सव सफल बनाउन स्थानीय सरकारको पनि दायीत्व रहने उहाले बताउनुभयो । यसमा नगरपालिकाले सहयोग गर्छ उनले भने,‘वालिङका राजनीतिकदल, सामाजिक संघसंस्था सबैले महोत्सव खेलमैदानमै हुनुपर्ने सुझाव दिएकाले नगरपालिका सकरात्मक बन्छ ।’ अब स्थान अन्योल हुदैन छिट्टै खेलमैदानमै हुन्छ उहाले भन्नुभयोे । महोत्सवलाई सबैले सहयोग गरि सफल बनाउन आग्रह समेत उहाले गर्नुभयो ।
गण्डकी प्रदेशमै महोत्सव सफल बनाउनेमा वालिङ उद्योग वाणिज्य संघ अग्रपंक्तिमा रहदै आएको छ । महोत्सवले गर्दा नै वालिङ उद्योग वाणिज्य संघको गरिमा र वालिङ नगरपालिका देशभर चिनाउन सफल भएको छ । यो महोत्सव सफल बनाउने दायीत्व पनि नगरपालिकाको रहेकोले महोत्सव खेलमैदानमा गर्ने बिषयको टुङ्गो छिट्टै लाग्ने नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । संघले वालिङका राजनीतिकदल, सरोकारवाल, क्लवका प्रतिनिधि सबैको रोहवरमा बसेर खेलमैदानमा महोत्सव गर्नुपर्ने सुझाव नगरपालिकालाई दिएको र नगरपालिकाले यस बिषयमा छिट्टै टुङ्गोमा पु¥याउने उहाले बताउनुभयो ।
खेलमैदानको जग्गा व्यवस्थापनको लागि नगर प्रवक्ता पदमराज गुरुङ्को संयोजकत्वमा ३ सदस्यीय समिति बनाएका छौं उहाले भन्नुभयो े,‘उक्त समितिलाई यो बिषयमा पनि टुङ्ग्याउन जिम्मेवारी दिएका छौं ।’ उक्त समितिले राय र सुझाव पेस गरेपछि कार्यपालिकाको बैठकले टुङ्ग्याउने छ उहाले भन्नुभयो ।
तर खेलमैदान महोत्सवका लागि पाउने वा नपाउने भन्ने बिषय भने अहिले भन्न नसकिने खाँणले बताउनुभयो । समितिको सुझाव र कार्यपालिकाले नै यसको टुङ्गो लगाउने भएकाले यो बिषयमा अहिले बोल्न नमिल्ने खाँणले बताउनुभयो । विगतका बर्षहरुमा महोत्सव सफल भएपनि आर्थिक रुपले भने सफल बन्न नसक्दा उद्योगी व्यवसायीमा असन्तुष्ट रहदै आएको छ ।
विगतका महोत्सवमा भन्दा यो महोत्सवमा आम्दानी र सफल बनाउने प्रतिवद्धता अहिलेको टिमले गरेको छ । वालिङको खेलमैदानमै महोत्सव गर्नेगरी बातावरण मिलाईदिन नगरपालिकालाई यहाँका उद्योगी व्यवससायीले आग्रह गरेका छन् ।