स्याङ्जा २२ जेठ । आज देशभर विश्व वातावरण दिवस मनाइदै छ ।
‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराकासाथ वातावरण दिवस मनाइएका हुन ।
सोही अवसरमा पारेर हिजो अर्जुनचौपारी गाउँपालिकाले झण्डै २ हजार विरुवा रोपेर वातावरण दिवस मनाएको छ । यहाँका पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीहरु सहित आमा समूह, जनप्रतिनिधिहरु, अर्जुनचौपारी प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी, आम नागरिकले वातावरण जोगाउन आवश्यक रहेको भन्दै खाली रहेका बाझा जमिनमा विरुवाहरु रोपेका थिए ।
बिरुवा रोपेर वातावरण दिवसको उदघाटन गर्दै गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीले बढ्दो प्रदुषण हटाउन पनि विरुवा रोपणगरी वातावरणीय सन्तुलन कायम राख्न सुझाव दिनुभयो । सोही कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, जिल्ला सव डिभिजन बन कार्यालयका प्रमुख, नेपाली सेना, वन उपभोक्ता महासंघका अध्यक्ष एवं प्रतिनिधिहरु, सामुदायिक वनका उपभोक्ता लगायतको सहभागीता रहेको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । आज वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै दिवस मनाइँदै छ ।