काठमाण्डौं २३ माघ । भारतकी वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज सरस्वती पूजाकै दिन ’मल्टी अर्गान फेलर’का कारण मंगेसकरको निधन भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो ।
लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपाली लगायत अन्य धेरै भाषामा समेत उहाँले स्वर दिनु भएको छ । उहाँले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिनु भएको छ ।
उहाँ फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित हुनु भएको छ । उहाँको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो । वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।