काठमाण्डौं १२ माघ । राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि आज मतदान कार्य जारी छ ।आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि ४३ जना चुनावी मैदानमा छन् ।
प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार मतदान आज बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ ।
सात प्रदेशका आठ मतदान स्थलमा १४ मतदान केन्द्रमार्फत् मतदान गराइनेछ । जसअनुसार प्रदेश १ मा दुई र अरु प्रदेशमा एक÷एक वटा मतदान स्थल छन् । प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर तथा प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ । मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुनेछ । लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० बाट नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने व्यवस्थाअनुसार मतदान हुन लागेको हो ।
मतदान मार्फत् ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य समूह गरी १९ जना चुनिने छन् । निर्वाचनमा स्थानीय तहका १४ सय ९३ र प्रदेश सभाका ५ सय ३२ जना गरी २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।