स्याङ्जा २१ माघ । फेदिखोला गाउँपालिकाले ‘उपाध्यक्षसंग सुत्केरी पोषण’ कार्यक्रम संचालन गरेको छ। सुत्केरी आमा र नवजात शिशुको स्याहार, सुसार र सरसफाईप्रति लक्षित गर्दै सो कार्यक्रम संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।
यसैबर्षको साउनदेखि यता सुत्केरी भएका आमा, शिशुका स्वास्थ्य र सरसफाईका अवस्थालाई ध्यान दिदै सुत्केरीसंग भेटवार्ता सहित पोषण झोला उपलब्ध गराउदै आएको गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङ्ले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी सहित पोषण झोला लिएर उपाध्यक्ष गुरुङ सुत्केरी घरघरमा पग्ने गर्छिन। यो क्रम जारी छ । चालु बर्षभरि जारी रहने छ । उपाध्यक्षसंग सुत्केरी पोषण झोलामा ३ किलो चामल, २ किलो दाल, १ किलो चना, एक क्रेट (३० वटा) अण्डा, १ किलो स्याउ (फलफूल), एक प्याकेट आयोडिनयुक्त नुन, २ वटा साबुन, एक÷एक वटा दाँत माझ्ने पेष्ट र व्रस राखि कोसेली स्वरुप सुत्केरीलाई दिईने गरिएको छ।
सुयोग्य, सक्षम र स्वस्थ्य नागरिक बनाउनु पालिकाको उदेश्य रहेको बमोजिम यस्ता अभियान संचालन गरेको पालिकाले जनाएको छ। यसै, चालु आर्थिक वर्षदेखि सुरु सो कार्यक्रमका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।
सुत्केरीसंग प्रत्यक्ष भेटवार्ताले बच्चालाई दिईने नियमित खोप, आइरन चक्कीको उपयोग, आमा र बच्चाको तौल, थप आहारा, स्तनपान, स्वास्थ्य केन्द्रमा किन सुत्केरी गराउने, सरसफाई, परिवार नियोजन र स्वास्थ्य सम्बन्धी धेरै बिषयमा जानकारी पाउनुका साथै सुझाव दिन सकिएको उपाध्यक्ष गुरुङ्ले भन्नुभयो ।
पाँच वडा रहेको फेदिखोला गाउँपालिकाभित्रका सुत्केरीका घरघरमा पुगिरहँदा शिशुकोे ३५ दिनभित्र जन्मदर्ता गरेमा निःशुल्क हुने र दलित बालबालिकाले पाउने पोषणभत्ताका बारेमा समेत अभिभावकले पुन ः जानकारी पाउने गरेका छन्।