स्याङ्जा २७ पुस । आज पृथ्वी जयन्ती अर्थात तोल ल्होसार । पुष २७ गते बडामहाराजधिराज पृथ्वी नारायण शाहको जन्म दिन पारेर राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । उहाकै जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मनाउने गरिएको हो ।
आजका दिन सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको दिनका रुपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइने गरिएको हो ।
आजभन्दा ३०० बर्षअघि २२ से अनि २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक मान्दै मनाइदै आएको छ ।
विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोर्नुभएको हो । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधिन रहेको तत्कालिन पञ्जाबदेखि सिक्किमसम्म नेपाली भू–भाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उतिबेला रहेको थियो ।

यसैगरी, हिमाली भेगका शेर्पा, लामा लगायत समुदायले धुमधामका साथ आज तोल ल्होसार मनाउँदैछन् । सबैभन्दा पुरानो ल्होसार मानिएको यो पर्व हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायत जिल्लामा मनाउने गरिन्छ । नेपालमा फरक–फरक जनजाति समुदायले छुट्टाछुट्टै ल्होसार मनाउने गर्दछन् ।
तमु ल्होसार पुसे १५ मा, सोनाम ल्होसार माघ प्रतिपदा र ग्याल्बो ल्होसार फागुन प्रतिपदामा मनाइन्छ । यी ल्होसारहरुमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । पुस शुक्ल प्रतिपदाको दिन नेपालका हिमाली जिल्लासँगै तिब्बत र भुटानमा समेत यो पर्व मनाउने गरिन्छ ।