स्याङ्जा १२ बैशाख । पुतलीबजार नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषित भएको छ । मंगलबार नगरपालिकामा आयोजित कार्यक्रम मार्फत जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जि.टी.ले सो घोषणा गर्नुभएको हो ।
घोषणा गर्दे प्रमुख जिटीले भन्नुभयो, ‘यस्ता अभियानले प्रत्येक बर्ष निरन्तरता पाइरहनुपर्छ। मातृ र शिशु मृत्युदर घटाउन र बालबालिकाको नैसर्गिक अधिकारभित्र रहेको खो पाउने अधिकारलाई राज्यले ध्यान दिनुपर्छ।’ राज्यले स्वास्थ्य, शिक्षा र सुरक्षाको जिम्मा लिनुपर्ने उहाले बताउनुभयो ।
चालु आवमा पुतलीबजार नगरपालिका अन्र्तगतका १४ वटा बडाका १६ देखि २३ महिनाभित्रका ३ सय ५३ बालबालिकाले पूर्ण खोप पाएका छन्। नगरपालिकाले ३ सय ७७ को लक्ष्य थियो। बालबालिकालाई १३ वटा रोग बिरुद्धका ७ वटा खोपका मात्रा पूरा भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, वरिष्ठ जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्मा, वडाअध्यक्ष एवं सामाजिक विकास संयोजक इमबहादुर सेन, स्वास्थ्य अधिकृत इश्वर थापा, जनस्वास्थ्य निरीक्षक नविनराज मरासिनी, टक्सार स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद च्वाईं लगायतले खोपको आवश्यकता र स्वास्थ्यमा राज्यको सरल नीति नियम र बजेट बढाउनु पर्नेमा जोड दिनुभयो ।
दिगो विकास लक्ष्य अनुरुप सन २०३० सम्ममा ५ बर्ष मुनिको मृत्युदर सुन्यमा झार्ने लक्ष्य छ । अझै पनि नेपालमा ८० प्रतिशत बालबालिकाले पूर्णे र १६ प्रतिशतले आंशिक खोप पाएका छन् । तर, ४ प्रतिशत बालबालिका भने अझै खोपबाट वंचित रहेको जनस्वास्थ्य अधिकृत अनिषा सुवेदीले बताउनुभयो ।
सोही कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता बनाउने कार्यलाई कार्यान्वयन गरेको भन्दै जिल्ला स्तरीय खोप समन्वय समितिले पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीलाई सम्मान गरिएको छ ।
यसैगरी, नगरपालिकाले १४ वटै वडा कार्यालयका वडाअध्यक्ष, स्वास्थ्य प्रमुख र स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको छ ।