स्याङ्जा २० असार । पुतलीबजार नगरपालिका १० मा बिहीवार मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
केन्द्र स्थापनाको औपचारिक घोषणा गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले गाउघरका समस्या गाउघरमै मिलाउने र दुबै पक्षलाई जीतको अनुभूति गराउन मेलमिलापकर्तालाई सुझाव दिनुभयो । वडाका मुद्धा वडामा मिलाउने प्रयास गर्नु पर्ने बताउदै कठिनाई भएमा नगर पालिका तथा अन्य सरोकारवाला निकायमा पठाउन सकिने जानकारी दिनुभयो ।
सोही कार्यक्रममा न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालले देवानी प्रकृतिका मुद्धालाई वडामा मिलाउने सहज वातावरण बनाई दुबै पक्षको चित्त बुझाउनेगरी काम गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १० का अध्यक्ष अग्नीप्रसाद पौडेल, नगर स्तरीय न्यायिक समिति सदस्य कमला गुरुङ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, सहजकर्ता विपिन्द्र क्षेत्री लगायतले मेलमिलापकर्ताले कसैको पनि पक्षपोषण नगरी न्याय दिनुपर्ने बताउनुभयो ।
नगरपालिकाले वडा बडामा रहनेगरी मेलमिलाप सहजकर्तालाई ४८ घण्टे मेलमिलापकर्ता उत्पादन गर्ने उदेश्य अनुरुप प्रशिक्षण दिएको थियो ।
सोही प्रशिक्षणपछि नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने उदेश्य बमोजिम अहिलेसम्मा वडा नं १, २, १० मा मेलमिलाप केन्द्र स्थापना गरिएका हुन ।
वडा नं. १० सन्तोषी पौडेल, सरु अर्याल र बिपिन्द्र क्षेत्री मेलमिलापकर्तामा सूचिकृत हुनु भएको छ । न्यायिक समिति शाखा प्रमुख सृजना लामिछानेले सहजकर्तालाई आचारसंहिताका बारेमा जानकारी गराउनुका साथै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।