स्याङ्जा ३ माघ । नेपाली काँग्रेस स्याङ्जाको १४ औं जिल्ला अधिबेशनबाट सभापतिमा निर्वाचित संविधानसभा सदस्य राजु थापाको नेतृत्वमा जिल्ला समितिको पहिलो बैंठक सम्पन्न भएको छ । काँग्रेस पार्टीमा सम्पन्न बैंठकले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ ।
बैंठकको पहिलो निर्णय निर्वतमान कार्यसमिति र निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । दोस्रो निर्णय भने पार्टीका बैंठकहरुलाई नियमित बनाउने निर्णय भएको काँग्रेस स्याङ्जाका सभापति राजु थापाले जानकारी दिनुभयो । सभापति थापाले दिएको जानकारी अनुसार जिल्ला कार्यसमितिको बैंठक प्रत्येक महिनाको ३ गते, क्षेत्रियकार्य समितिको ८ गते, प्रदेश कार्यसमितिको १३ गते, पालिकाहरुको १८ गते र वडा कार्य समितिको बैंठक २३ गते गर्ने निर्णय भएको छ ।
थापाको नेतृत्वको कार्यसमितिले जिल्लाभर प्रशिक्षण कार्यक्रम संचालनगर्ने निर्णय गरेको छ । काँग्रेस स्याङ्जाका नेता तथा महाधिबेशन प्रतिनिधि भरतप्रसाद लम्सालले दिएको जानकारी अनुसार पार्टी विधानको परिच्छेद १२ को दफा ६५ अनुसार सभापतिमा प्रतिस्पर्धी प्रदेश सांसद काँग्रेस नेता भागवत प्रकाश मल्ललाई जिल्ला कार्यसमितिको सदस्य बनाईएको छ । पार्टीको संगठन सुधिणीकरण गर्दै जिल्लाभर नेपाली काँग्रेस संगठन विस्तार प्राथमिकतामा राख्ने समेत भएको छ ।
बैंठकले जिल्ला सदरमुकाम पुतलीबजारमा रहेको जिल्ला पार्टी कार्यालय मर्मत र थप संरचना समेत बनाउने निर्णय भएको छ । विगत लामो समयदेखि अव्यवस्थित बन्दै आएको काँग्रेसको लेबि संकलन कार्यलाई व्यवस्थित बनाउन आन्तरिक तयारी थालेको छ । जिल्ला स्थित सबै राजनीतिकदलसँग आपसी सहकार्य गर्दै जाने भनेको काँग्रेस स्याङ्जाले सरकारी तथा गैरसरकारी संस्थासँग हातेमालो गर्दै जनसेवामा लाग्ने लक्ष्य लिएको जनाएको छ ।