स्याङ्जा, २६ भदौ । नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । काँग्रेस निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको बताउँदै महाधिवेशन कार्यतालिकामा हेरफेर भएको हो । हिजोसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ । बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ बजे गर्ने निर्णय भएको छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार काँग्रेसले वडा अधिवेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो । यस्तै पालिकाको अधिवेशन भदौ २३ गते गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने निर्णय भएको थियो ।
अब पालिकाको अधिवेशन असोज ९ गते हुनेछ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।
यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ अधिवेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका रहेको छ ।
तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिवेशनको मिति पनि तत्काल परिवर्तन गरिएको छ ।